close

दाङमा चाडपर्व लक्षित बजार अनुगमन 

दाङमा चाडपर्व लक्षित बजार अनुगमन 

Trulli
ADVERTISEMENT

दाङ– चाडपर्व नजिकिँदै गर्दा दाङका बजार पसलमा अनुगमन थालिएको छ । दसैँ आउन एक साता बाँकी रहँदा अनुगमनलाई तीव्र बनाइएको हो । जिल्ला प्रशासन कार्यालय दाङ, दाङ जिल्ला उद्योग वाणिज्य संघ, घोराही उप–महानगरपालिका उपभोक्ता हित शाखासहितको टोलीले केही दिनयता बजार अनुगमन गरिरहेको छ । टोलीले उपमहानगरभित्रका खाना तथा नास्ता, खाद्यान्न पसलमा अनुगमन गरेको छ ।


बुधबार घोराहीका सात वटा किराना पसलमा अनुगमन गरिएको छ । अनुगमनमा वडा नम्बर १५ स्थित भिंग्रेलीचोकमा रहेको वली किराना पसलमा म्याद सकिएको घिउ तीन डिब्बा, सोया सस चार डिब्बा र बेसनको पीठो दुई किलो नष्ट गरिएको थियो ।  सोही ठाउँमा रहेको शाही किराना पसलको ढक–तराजुमा अनियमितता देखिएकाले बरामद गरिएको छ । 


दैनिक उपभोग्य वस्तुकोे उत्पादनदेखि त्यसको बिक्री वितरण प्रक्रियासम्म ध्यान दिन अनुगमन टोलीले आग्रह गरेको छ । अनुगमनलाई निरन्तरता दिने क्रममा घोराही उपमहानगरका ग्रामीण क्षेत्रका वडा १, २, ३, ५, ६ र बजार क्षेत्रका १४ र १५ वडाका विभिन्न पसलमा अनुगमन गरिसकिएको छ ।  सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा सञ्चालित पसलबाट पनि उपभोक्ता ठगिने गरेको गुनासो बढेपछि अनुगमनलाई गाउँ–गाउँ पुर्‍याएको हो ।


उपभोक्तालाई ठगीबाट जोगाउने उद्देश्यले अनुगमनलाई निगरानी गरिएको घोराही उपमहानगर उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीले बताए । घोराही उपमहानगर उपभोक्ता हित संरक्षण शाखाको अगुुवाइमा जिल्ला प्रशासन कार्यालय, दाङ उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, प्रहरी, पत्रकारलगायतको उपस्थितिमा नियमित अनुगमन गरिएको हो । 


अनुगमनका क्रममा अधिकांश पसल दर्ताबिनै सञ्चालन भएको, पसलको साइनबोर्ड, मूल्यसूची नराखेको, म्याद सकिएका वस्तुसमेत बिक्री गरेको पाइएको थियो ।

 

अनुगमन टोलीले भ्याद सकिएका वस्तु जफत गरी सम्बन्धित पसलधनीको उपस्थितिमै नष्ट गरेको शाखा प्रमुख अधिकारीले जानकारी दिए । दर्ताबिनै सञ्चालन भएका पसललाई प्रक्रिया पूरा गरेर सम्बन्धित ठाउँमा दर्ता गर्न निर्देशन दिइएको छ । अटेरी गर्ने पसललाई कानुनअनुसार कारबाही गर्ने चेतावनी टोलीले दिएको छ ।

 

अनुगमनमा दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, जिल्ला प्रशासन कार्यालयका कृष्ण चौधरी, घोराही उपमहानगर राजस्व शाखाका प्रतिनिधि, प्रहरीलगायतको सहभागिता थियो ।