close

लुम्बिनी प्रदेश सरकारको नयाँ बजेट : स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

लुम्बिनी प्रदेश सरकारको नयाँ बजेट : स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट घोषणा गरेका हुन् । 


कुल बजेटमध्ये चालू खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पुँजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा समेटिएको हो ।


सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान तथा उपचारका लागि आवश्यक पर्ने औजार उपकरण, औषधी र अन्य आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि प्रदेश कोभिड कोषमार्फत खर्च गर्ने गरी आवश्यक बजेटको व्यवस्था गरेको छ ।


१८ वर्षमुनिका बालबालिकाका लागि कोभिड–१९ विरुद्ध खोप खरिद तथा खोप अभियान सञ्चालनका लागि संघीय सरकारसँग समन्वय गरिने भएको छ । यसका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । दुर्गम तथा पहुँचभन्दा टाढा रहेका स्थानमा घरदैलोमा डाक्टर कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याइएको छ ।


प्रदेशका सबै सरकारी स्वास्थ्य संस्थाबाट रक्तसञ्चार सेवा निःशुल्क रूपमा प्रदान गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशबासीलाई मिर्गाैला प्रत्यारोपण, मुटुको भल्भ फेर्ने र क्यान्सर रोगको उपचारका लागि विपन्न नागरिक औषधी उपचार निर्देशिकाले व्यवस्था गरेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप २ लाख रुपैयाँसम्म उपचार सहुलियत दिइनेछ ।


प्रदेशभित्र उपयुक्त स्थानमा ज्येष्ठ नागरिक अस्पताल र महिला तथा बाल अस्पताल स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ । बढ्दो मुटु रोगको उपचारलाई सर्वसुलभ बनाई यस क्षेत्रका मुटु रोगका बिरामीको उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा क्याथ ल्याब सेवा विस्तारको लागि १० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री खड्काले बताए ।


प्रदेशमा हालसम्म एमआरआई सेवा सञ्चालन नहुँदा सबै बिरामी अन्यत्र धाउनुपर्ने अवस्था हटाउन मेसिन खरिद एवं सेवा विस्तारका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।


ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य सेवा दिन स्थानीय सरकारसँगको सहकार्यमा ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको खड्काले बताए ।