close

जडीबुटीका बिरुवा रोपेर हराभर हुने भए भोजपुरका डाँडाकाँडा

जडीबुटीका बिरुवा रोपेर हराभर हुने भए भोजपुरका डाँडाकाँडा

Trulli
ADVERTISEMENT

भोजपुर– नेपाली सेनाको फस्ट राइफल गणले ‘गो ग्रिन’ कार्यक्रमअन्तर्गत एक व्यक्ति एक बिरुवा रोपण अभियान सञ्चालन गरेको छ ।  वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले स्थानीयको सहयोगमा सेनाले विभिन्न सामुदायिक वनमा बिरुवा रोप्न थालिएको हो ।  हतुवागढी गाउँपालिकाको सतभैया र भोजपुर नगरपालिका वडा नम्बर १२ पारपानीमा रहेको इनामे सामुदायिक वनमा धुपी सल्ला, तेजपत्ता, पैयुँ, लालीगुँरास, मसलालगायत २ हजार बढी बिरुवा रोपिएको छ । 


अभियानअन्तर्गत जिल्लाभर १२ हजार बिरुवा रोप्ने योजना रहेको गणपति विश्वनाथ तिमल्सिनाले जानकारी दिए । उनले भने, ‘वातावरण संरक्षण गर्न यो अभियानअन्तर्गत जिल्लाभर १२ हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्य लिएका छौँ । यसले यहाँको वातावरण संरक्षणमा केही टेवा पुग्ने आशा गरेका छौँ ।’ 

सेनाले थालेको अभियान सराहनीय रहेको र वने संरक्षण तथा विकासमा स्थानीय सरकारले सहयोग गर्ने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
उनले भने, ‘सेनाले थालेको यो अभियान स्वागतयोग्य छ । नांगा पाखालाई हरियाली बनाउन यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ । सेनाले थालेको अभियानलाई हामी पनि साथ र सहयोग दिएर अगाडि बढ्छौँ ।’ रोपिएका बिरुवालाई नेपाली सेना तथा स्थानीय तहले संरक्षण गर्ने बताएका छन् । अन्य स्थानमा पनि वृक्षरोपण गर्ने कार्यतालिका रहेको सेनाले जनाएको छ ।

 

वृक्षारोपणका लागि डिभिजन वन कार्यालयले सेनालाई बिरुवा उलब्ध गराउँदै आएको प्रमुख विष्णुलाल घिमिरले जानकारी दिए । उनले भने, ‘हामीले नांगा डाँडालाई हरियाली बनाउने उद्देश्यले विभिन्न गतिविधि बढाइरहेका छौँ । सेनाले पनि अभियानै सञ्चालन गरेर वृक्षरोपनका काम गरिरहेको छ । यसले वन कार्यालयको अभियानमा साथ मिलेको छ । पछिल्लो समय जिल्लामा वृक्षरोपण गतिविधि बढेको छ । विशेषगरी स्थानीयले फलफूल तथा जडीबुटीका बिरुवा रोप्न चासो देखाएका छन् ।’

 

वरपीपल संरक्षण 
वन कार्यालयले वरपीपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण सयौँ वर्ष अगाडि रोपिएका वरपीपल मासिन थालेकाले कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको हो ।

 

वरपीपलबाट प्रशस्त मात्रामा अक्सिजन प्राप्त हुने तथा वातावरण हराभरा राख्न टेवा पु¥याउने भएकाले सार्वजनिक तथा खुला क्षेत्रमा रोप्नका लागि अभियान सञ्चालन गरिएको हो । धेरै मात्रामा वरपीपल विस्तार गर्न सके बस्तीमा बाँदर आउने क्रमसमेत रोकिनेछ ।


वरपीपलका फल खाएर बाँदर अल्मलिने हुँदा त्यसबाट किसानको अन्नबालीमा कम क्षति हुने कार्यालय प्रमुख घिमिरेले बताए । उनले भने, ‘पछिल्लो समय धेरै वर्ष पुराना वरपीपलका रुख मासिँदै गएका छन् । अधिकांश ठाउँमा तिनका ठुटा मात्र देखिन्छन् । यसले वातावरणलाई प्रत्यक्ष रूपमा हानि पुगिरहेको छ । त्यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर अभियानका रूपमा काम गर्दै आएका छौँ ।’

 

त्यस्तै, बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनमा इस्कुस रोप्न आग्रह गरिएको उनले बताए । बाँदरका लागि खाने आहारा वन क्षेत्रमै उत्पादन गर्न सके गाउँबस्तीमा कम क्षति गर्ने अनुमान गरिएको छ । 

 

प्रमुख घिमिरेले भने, ‘हाम्रा कारणले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौँ । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । उनीहरूलाई खान आवश्यक पर्ने वस्तु फेला नपरेपछि बस्तीमा आउनु स्वाभाविक हो । त्यसैले वन क्षेत्रमा पनि फलफूलका बिरुवा विस्तार गर्न जरुरी देखिएको छ । त्यसैले हामीले खुला क्षेत्रमा वरपीपल रोप्ने अभियान सञ्चालनमा गरेका हौँ ।’

 

कृषक उत्सुक

पछिल्लो समय स्थानीय जडीबुटीका बिरुवा रोप्न उत्सुक भएका छन् । वन कार्यालय तथा सामुदायिक वनका पदाधिकारीले यस्ता बोटबिरुवाको महत्त्वबारे जानकारी दिनुका साथै कृषकलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएकाले उनीहरूमा बिरुवा रोपणमा मोह बढेको हो । 


विभिन्न कृषक लक्षित कार्यक्रमले यहाँ जडीबुटीमा लाग्ने कृषकको संख्या बढेको छ । कार्यालयले विभिन्न कार्यक्रममार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेकाले कृषकले जडीबुटी खेतीलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याएका हुन् ।

 

यस वर्ष मात्रै टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तिम्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा जडीबुटी विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो ।कृषकलाई आयआर्जनमा जोड्न, टिमुर, लालीगुँरास, तेजपत्ता, लोठ सल्ला, पयँुलगायत बिरुवा विस्तारमा प्रोत्साहन गर्नुका साथै जिल्लाका छवटा नर्सरीबाट १ लाख ६४ हजार बिरुवा उत्पादन गरिएको कार्यालयले बताएको छ ।

 

करिब पाँच हजार कागती, एभोकाडोलगायत बिरुवा कृषकलाई वितरण गरिएको कार्यालयले जनाएको छ । बर्सेनि बिरुवा वितरण गरिए पनि त्यसको उपलब्धि आउन नसकेको गुनासो गर्दै सरोकारवालाले कृषकले उत्पादन गरेका जडीबुटीको बजारीकरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

 

सतुवा, चिराइतो, टिमुरलगायत विभिन्न जडीबुटीको पकेट क्षेत्र निर्धारण गरेर काम भइरहेको र कृषकलाई थप प्रोत्साहन गर्न लाहाखेती विस्तारका लागिसमेत काम भइरहेको कार्यालयले बताएको छ । त्यस्तै, जडीबुटी खेती विस्तार तथा वन क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना तयार भइरहेकाले त्यसमा छुटेका विषयवस्तुबारे राय सुझाव संकलन लिइएको बताइएको छ ।