close

शिख र शिवाङमा नमुना आवासीय विद्यालय 

शिख र शिवाङमा नमुना आवासीय विद्यालय 

Trulli
ADVERTISEMENT

म्याग्दी - समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र धवलागिरी गाउँपालिका–७ शिवाङमा नमुना आवासीय विद्यालय सञ्चालन गरिने भएको छ ।


विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सुविधासहित अध्ययनको व्यवस्था मिलाउने सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । 


अन्नपूर्णको शिख र धवलागिरीको हेम माविमा आवासीय विद्यालय सञ्चालनका लागि प्रदेश सरकार र पालिकाको साझेदारीमा छात्रावास भवन निर्माण सुरु भएको हो । २ वटै विद्यालयमा गत वर्ष ६०/६० लाख पठाएको सामाजिक विकास मन्त्रालयले यस वर्ष २÷२ करोड रुपैयाँ विनियोजन गरेको छ । 


प्रदेश सरकारले पठाएको ६० लाख र गाउँपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ गरी शिख माविको छात्रावास भवन बनाउन १ करोड १० लाख रुपैयाँको ठेक्का आह्वान भएको थियो । ८१ लाख ४० हजार ९ सय ७१ रुपैयाँमा गत जेठमा सम्झौता गरेको उत्तरगंगा निर्माण सेवाले १० कोठे भवनको ढलान गरिसकेको अन्नपूर्ण गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले बताए । 


गत साता पालिकाका जनप्रतिनिधि, प्राविधिक र विद्यालयका प्रतिनिधिको रोहवरमा ठेकेदारले भवन ढलान गरेका थिए । नमुनाको रुपमा ढलानमा प्रयोग भएका सिमेन्ट, बालुवा र गिट्टीको गुणस्तरसमेत परीक्षण गर्न लागिएको इन्जिनियर भण्डारीले जानकारी दिए । 


हेम माविको १० कोठे छात्रावास भवन निर्माणका लागि १ करोड १ लाख ९० हजार ८ सय ८६ रुपैयाँमा ठेक्का पाएको माछापुच्छ«े निर्माण सेवाले काम सुरु गरेको धवलागिरि गाउँपालिकाका इन्जिनियर सोविन जिसी बताउँछन् । 


सो भवन निर्माणका लागि १ करोड २० लाख ७८ हजार ५ सय २२ रुपैयाँ लागत अनुमान गरिएको थियो । छात्रावासमा घर टाढा भएका विद्यार्थीलाई खानेबस्ने सुविधा हुनेछ । 


यो वर्ष प्रदेश सरकारले विनियोजन गरेको २ करोड, गाउँपालिकाको ३० लाख र समुदायको ३० लाख रुपैयाँ बजेटमा आवासीय विद्यालयको थप पूर्वाधार निर्माण तयारी भएको शिख माविका प्रधानाध्यापक केदार कार्कीले बताए ।


कक्षा १२ सम्मको पठनपाठन हुने शिख माविमा हाल १ सय ८९ विद्यार्थी छन् । आवास भएपछि घर टाढा भएका विद्यार्थीलाई सुविधा पुग्नुका साथै कम विद्यार्थी संख्याका विद्यालय गाभ्न सकिने प्रधानाध्यापक कार्कीले जानकारी दिए ।