close

सप्तरीको सखडेश्वरी भगवती मन्दिरमा हजारौँ श्रद्धालुको जमघट 

सप्तरीको सखडेश्वरी भगवती मन्दिरमा हजारौँ श्रद्धालुको जमघट 

Trulli
ADVERTISEMENT

सप्तरी–विजया दशमीको पहिलो दिन घटस्थापना अवसरमा सप्तरीसहित देशभरिकै विभिन्न शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लागेको छ । मुलुकमै प्रसिद्ध सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी भगवती मन्दिरमा बिहानैदेखि सयौँ श्रद्धालु भक्तजन पूजाआजा गर्न आएको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए ।


दुई वर्षयता कोरोना महामारीका कारण भएको बन्दाबन्दीले भक्तजनको संख्यामा कमी आए पनि यो वर्ष अवस्था सामान्य भएको र सीमावर्ती नाकाबाट सवारी साधन सञ्चालनमा आएपछि भक्तजनको भीड बढ्न थालेको पीठाधीशको कथन छ ।


सोही अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ रम्पुरा मल्हनियास्थित कुनोली सीमामा बडा दसैँ अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने गरेको छ ।


घटस्थापनाका दिन हजारौँको सहभागितामा बृहत् कलश यात्रा निकालिएको स्थानीय सूर्यनारायण यादवले जानकारी दिए । वडाध्यक्ष सत्यनारायण यादवको नेतृत्वमा हजारौँको सहभागितामा कलश यात्रा निकालिएको हो ।


कलश यात्रा रम्पुरा, मल्हनिया, डलवा हुँदै कोसीमा जल लिएर भगवती मन्दिरमा आइपुगेको हो । प्रत्येक वर्ष झैँ यो वर्ष पनि सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ वरही वीरपुरको डिहवारथान पोखरी तथा नवदुर्गा भगवती मन्दिरमा हजारौँको सहभागितामा कलश यात्रा निकालिएको आयोजक समितिका सन्तोषकुमार यादवले बताए ।

 

वडाध्यक्ष विनोदकुमार यादवलगायतकोे अगुवाइमा हजारौँको सहभागितामा निकालिएको सो कलश यात्रा वरही वीरपुरको परिक्रमापछि कोसी पश्चिम नहरमा जल विसर्जन गरी पुनः मन्दिर पुगेको थियो । 


सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ स्थित लोखरम वीरपुर चोकमा समेत बडा दसैँ अवसरमा विभिन्न धार्मिक कार्यक्रम राखिएको वडाध्यक्ष शिवशंकर पण्डितले जानकारी दिए । सप्तरी सदरमुकाम राजविराजस्थित राजदेवी मन्दिर, भगवती मन्दिरलगायत जिलाभरका विभिन्न मठमन्दिरमा दसैँ अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।