close

तीन दशकदेखि बहुआयामिक कृषि कर्ममा खटिँदै सापकोटा परिवार

तीन दशकदेखि बहुआयामिक कृषि कर्ममा खटिँदै सापकोटा परिवार

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङ नगरपालिका–४ ढोडेनीका त्रिलोचन सापकोटाको दैनिकी निकै व्यस्त छ । उनको दैनिकीको काम र व्यस्ततालाई आकलन गर्ने हो भने लामो सूची नै तयार हुन्छ ।

 

बिहान ५ बजे उठेर गाईभैँसीको स्याहारसुसार, दूध दोएर खोलापारि सहकारीको संकलन केन्द्रमा पठाउने । घरमा पालिएका माछा, टर्की तथा हाँसलाई दानापानी हालेर उनी सोझै घाँस काट्न भीरमा पुग्छन् । घर नजिकैको खरबारीबाट घाँसको भारीसहित घरमा आएका सापकोटालाई खाना खाने समय व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्छ ।

 

४८ वर्षीय सापकोटालाई कृषिमा आउन बुबाको प्रेरणा र परिवारको साथ छ । खाना खाएपछि उनी टनेलमा तरकारीको स्याहारसुसारमा लाग्छन् । उनले दैनिक उत्पादन भएका माछा, तरकारी, दूधलगायत कृषि उपज सहकारीको दूध संकलन गर्न पुगेको सवारीमा बागलुङ बजार पुग्छन् । सामान्यतया कृषकले तरकारी खेती अथवा पशुपालन मात्रै गर्दै आए पनि उनले कृषि उपजमा बहुआयामिक हिसाबले काम गरेका छन् ।

 

३० वर्षदेखि कृषि पेसामा सक्रिय उनले कृषिका अनेक पाटामा अनुभव सँगालेका छन् । सापकोटाको कालीगण्डकी पशुपालन तथा कृषि फार्म ९ रोपनी क्षेत्रफलमा फैलिएको छ । उनको फार्ममा अहिले १५० टर्की, ६० हाँस, पोखरीमा १० हजार माछा, ५ गाई, २ भैँसी र ८ प्लास्टिक टनेलमा तरकारी छ ।

 

‘सानैदेखि कृषिमा लगाव थियो । वैदेशिक रोजगारीमा ध्यान गएन । बुबाले गरेको परम्परागत कृषि खेतीलाई विस्तारै आधुनिकतामा ढालेँ । प्रविधियुक्त कृषि प्रणाली अपनाउँदै आएँ’, कृषक सापकोटाले भने, ‘२०७२ देखि यसलाई कृषि तथा पशुपक्षी फार्मका रूपमा विकास गरेँ । अहिले वार्षिक १४/१५ लाख रुपैयाँको कृषि उपजलाई बजारीकरण गर्दै आएको छु । कारोबारको ४० प्रतिशत खुद नाफा हुन्छ होला । सन्तुष्ट छु । परिवारको यसमा ठूलो साथ छ ।’

 

फार्म सञ्चालनका लागि साढे ३ रोपनी जग्गा आफ्नै छ । अन्य जग्गा वार्षिक ८० हजार रुपैयाँ भाडा तिरेर कृषि गर्दै आएको उनी बताउँछन् । उनले टनेलबाहेकको ५ रोपनी जग्गामा काउली, बन्दाका बिरुवा लगाएका छन् । 

 

गत असार र साउनमा मात्रै डेढ लाख रुपैयाँको गोलभेडा बिक्री गरेको उनले बताए । बाह्रै महिना मौसमी, बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्दै आएको उनको भनाइ छ । ‘अहिले मसँग २ हाइटेक टनेल र अन्य फलामे टनेल छन् । त्यसमा थोपा सिँचाइ र मल्चिङ प्रविधि प्रयोग छ’, उनले भने, ‘आधुनिक प्रविधिसँगै कृषि उत्पादनमा वृद्धि भएको छ ।’

 

उनले एक जनालाई रोजगारी दिएका छन् भने श्रीमती चित्रकुमारी र छोरा सागरले सघाउँदै आएका छन् । धवलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका सागरले क्याम्पसको अध्ययन समयपछि कृषि फार्मलाई समय दिने गरेका छन् ।

 

सापकोटा परिवारले सहकारीमार्फत दूध बिक्री मात्रै गर्दैन । अन्य किसानलाई समेत दूध उत्पादनमा प्रेरित गर्दै संगम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्वसमेत गर्दै आएको छ ।  सहकारीले अहिले दैनिक २०० लिटर दूध बजार पठाउने गरेको छ ।

 

सापकोटाले अहिले ३० लिटर दूध दैनिक बजार पठाउने गरेको बताए । ३ वर्षदेखि पाल्न थालेको टर्की, हाँस तथा माछाले पनि उत्पादन दिइराखेका छन् । फार्मबाट माछा प्रतिकिलो ४००, टर्कीको तयारी मासु १ हजार र हाँस जिउँदो प्रतिकिलो ५०० रुपैयाँमा बिक्री हुने गरेको छ ।