close

नमोबुद्धको १० नम्बर वडा र स्वास्थ्य चौकी भवन उद्घाटन

नमोबुद्धको १० नम्बर वडा र स्वास्थ्य चौकी भवन उद्घाटन

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर १० को पक्की वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । वडा कार्यालयसँगै सोही वडामा निर्माण गरिएको पुरानागाउँ स्वास्थ्य चौकीको नवनिर्मिति भवनको शुक्रबार नै उद्घाटन गरिएको छ । 


नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले दुवै कार्यालय भवन उद्घाटन गरे । सबै वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढेको नगरपालिकाले करिब ७५ लाख रुपैयाँको लागतमा वडा भवन निर्माण गरेको हो । दुई तल्ले पक्की भवनमा कार्यालय सञ्चालन भएसँगै अब उक्त वडाका बासिन्दालाई वडाबाट पाउने सेवा लिन थप सहज हुनेछ ।


यस्तै, करिब ३६ लाख रुपैयाँको लागतका पुरानागाउँ स्वास्थ्य चौकीको भवन निर्माण गरिएको हो । नमोबुद्धबाट विनियोजित १० लाख रुपैयाँ र बाँकी रकम वडा कार्यालयमार्फत स्वास्थ्य चौकी निर्माण गरिएको छ । स्वास्थ्य चौकी भवन उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो भने वडा कार्यालय निर्माण जिम्मा युनिक बिल्डर्स नमोबुद्धले पाएको थियो ।

 

वडा कार्यालय भवनका लागि समाजसेवी रामकृष्ण श्रेष्ठले १० आना १ पैसा १ दाम जग्गा निःशुल्क उपलब्ध गराएका थिए भने स्वास्थ्य चौकीका लागि स्व. अक्कलबहादुर तामाङ, इन्द्र्रप्रसाद घोरसाइने र सानुकान्छी तामाङले ४ आनाका दरले निःशुल्क जग्गा प्रदान गरेका थिए ।  कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले निर्वाचनको समय जनतासामु गरेको प्रतिबद्धताअनुसार नै नगरको समग्र विकासका लागि लागिपरेको बताए । 

 

‘हाम्रो कार्यकालमा कति विकास निर्माणका कार्य भए, त्यसको मूल्यांकन जनताले गर्नेछ,’ नगर प्रमुख तिमल्सिनाले भने, ‘हामी नगरको विकासका लागि योजना निर्माण र कार्यान्वयनमा लागिपरेका छौँ ।’

 

नगरका सबै वडामा अपांगतामैत्री, वातावरणमैत्री र बालमैत्री वडा कार्यालय भवन र स्वास्थ्य संस्थाको भवन निर्माण यही आर्थिक वर्षमा पूरा हुने तिमल्सिनाले जानकारी दिए । 

 

खानेपानी र सडक पनि नगरको प्रमुख प्राथमिकतामा परेको र सबै वडा कार्यालयसम्म पुग्ने सडक निर्माण, एक घर एक धारा अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । नगरकै दुइटा टोल वातावरणमैत्री घोषणा गरेको र सिंगो नगरलाई वातावरणमैत्री नगर बनाउन आफूहरू लागिपरेको उनले बताए । 

 

कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङले नमोबुद्धले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अघि बढाएको र सोहीअनुसार वडा कार्यालय तथा स्वास्थ्य संस्थाका भवन निर्माण गरिएको बताइन् ।

 

उनले निर्माण भएका संरचनाको सदुपयोग गर्नसमेत सरोकारवालालाई आग्रह गरिन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरका ११ वडामध्ये ८ वटाको भवन निर्माण सम्पन्न भएको र बाँकी ३ वटाको निर्माण प्रक्रिया सुरु भइसकेको जानकारी दिए । यसै आर्थिक वर्षभित्र सबै वडा कार्यालयको आफ्नै भवन हुने तथा सबै स्वास्थ्य संस्था पक्की भवनबाट सञ्चालन हुने उनले बताए । नगरबासीलाई सहज सेवा प्रदान गर्न भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा पारिएको उनको भनाइ छ । 

 

वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले सरोकारवालाको साथ र सहयोगबाट वडा कार्यालय भवन तथा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको बताउँदै जग्गादाता र अन्य सहयोगीलाई धन्यवाद दिए ।

 

भवन निर्माणसँगै समग्र वडाको विकासका लागि क्रियाशील रहेको भन्दै उनले वडा र स्वास्थ्य चौकीको भवन निर्माणपछि सेवा प्रवाह अझै प्रभावकारी बनाउन मद्दत पुग्ने बताए । 

 

कार्यक्रममा वडा कार्यालय र स्वास्थ्य संस्थाका लागि जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान गरिएको थियो । यस्तै, नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष एवं नमोबुद्ध नगरपालिकाका प्रेस सल्लाहकार विनोद न्यौपाने, वडा कार्यालय निर्माण गर्ने युनिक बिल्डर्सका देवराज लामा, नमोबुद्धका वातावरण अधिकृत सन्तोष काफ्ले, इन्जिनियर विमल कार्की, समाजसेवी टीकाबहादुर तामाङ, पुरानागाउँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य चौकी निर्माण उपभोक्ता समितिलगायतलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको थियो । 

 

जग्गादाता रामकृष्ण श्रेष्ठका छोरा श्रीकृष्ण श्रेष्ठ, नमोबुद्ध वडा नम्बर ५ का वडाध्यक्ष बुद्धसिं तामाङ, सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष केदारप्रसाद अधिकारी, पुरानागाउँ स्वास्थ्य चौकी इन्चार्ज कल्पना अधिकारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सचालन जनक क्याम्पसका प्राचार्य हरिहर अधिकारीले गरेका थिए ।