close

दुग्ध उत्पादक किसानलाई तिलोत्तमाको ४६ लाख अनुदान

दुग्ध उत्पादक किसानलाई तिलोत्तमाको ४६ लाख अनुदान

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम उपलब्ध गराएको छ ।  नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो ।

 

उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप यो वर्ष किसानले ४६ लाख ६ हजार ५ सय ६९ रुपैयाँ प्राप्त गरेका छन् । किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत बिक्री गरिएको दूधको परिमाणअनुसार नगरपालिकाले हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

 

सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २१ वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले अनुदान प्राप्त गरेका छन् । शुक्रबार १६ वटा सहकारीले अनुदान रकम बुझेका छन् भने बाँकी ५ वटा सहकारीले आवश्यक कागजात पु¥याएपछि रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

 

नगर प्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम केही दिनभित्रै किसानको हातमा पु¥याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई निर्देशन दिए । नगरपालिकाले अघिल्लो दुई आर्थिक वर्षमा पनि सोही नीतिअनुरूप किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले रकम दिने नीतिलिएको बताउँदै नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले किसानमुखी अन्य कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिइन् । 

 

यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नम्बर १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख ९४ हजार ६४५ प्राप्त गरेको छ भने वडा नम्बर १४ कै टिकुलीगढ दुग्ध उत्पादक सहकारीले ५ लाख ६६ हजार १०१, वडा नम्बर १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ५ हजार ९४४, वडा नम्बर ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ३ लाख ९ हजार ५७५ रुपैयाँ प्राप्त गरेको छ । 

 

गत वर्ष नगरपालिकाले किसानलाई ४५ लाख ९८ हजार ८ सय २१ रुपैयाँ अनुदानस्वरूप प्रदान गरेको थियो । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक १ करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झन्डै आधा दूध सहकारीमार्फत बिक्री वितरण हुने गरेको छ । 

 

अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले जिल्लाका अन्य पालिकाले नगरेको काम तिलोत्तमाले गरेको बताए । सोझै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैका लागि अनुकरणीय रहेको उनको भनाइ छ । यस्तै, शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए ।