close

राष्ट्रिय खेलकुद परिषद्मा बेथिति : छापबिनाको लेटरप्याड प्रयोग गरेर अधिकार दुरुपयोगको शृंखला

राष्ट्रिय खेलकुद परिषद्मा बेथिति : छापबिनाको लेटरप्याड प्रयोग गरेर अधिकार दुरुपयोगको शृंखला

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्मा मनपरीतन्त्र र बेथितिका अनेकौँ शृंखला देखिन थालेका छन् ।  परिषद्का पदाधिकारीले देशको कानुन र नियमलाई बर्खिलाप गरेपछि प्रशिक्षक र खेलाडी नेतृत्वसँग असन्तुष्ट छन् । देशका युवालाई स्वस्थ र अनुशासनको पाठ सिकाउने संस्था परिषद्मा निहित स्वार्थ हावी भएपछि खेलाडीको मनमा चिसो पसेको छ । परिषद्का सदस्य मात्र नभई सदस्य सचिवदेखि उपाध्यक्षसम्म आफूखुसी हिँडिरहेका छन् ।


तेक्वान्दो संघको महाधिवेशनलाई लिएर सदस्य सचिव रमेश सिलवालले आफ्नो अधिकारभन्दा बाहिर गएर संघको निर्वाचनलाई नै बिथोल्ने प्रयास गरे ।  प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्टीकरण सोधेपछि सदस्य सचिव सिलवाल अहिले थन्किएका छन् । सिलवालभन्दा उपाध्यक्ष शिव कोइराला झन् के कम ! उनले आफ्नो हैसियत र अधिकार मिचेर विश्व तेक्वान्दो संघमा परिपत्र गरेर तेक्वान्दो संघको महाधिवेशन रोक्ने प्रयास गरे ।

 

दर्ता चलानी नै नरहेको पत्रमा कोइरालाले कीर्ते गरेको खुलेपछि परिषद्भित्र खैलाबैला भएको छ । उपाध्यक्ष कोइरालाले ३० सेप्टेम्बरमा परिषद्को लेटर प्याड प्रयोग गरी सोझै विश्व तेक्वान्दो महासंघलाई परिपत्र गरेर तेक्वान्दो संघको अधिवेशन बिथोल्न खोजे । तर, उनको योजना पूरा हुन भने सकेन । यी घटनाले परिषद् कसरी चलेको छ भन्ने प्रस्ट भएको छ ।

 

कुनै कार्यकारी अधिकार नभएका उपाध्यक्ष कोइरालाले आफ्नो पदीय जिम्मेवारी र हैसियत भुल्दा सिंगो मुलुकको अन्तर्राष्ट्रिय स्तरमा बदनाम भएको छ । परिषद्का प्रवक्ता कुलबहादुर थापाले उपाध्यक्षले अन्तर्राष्ट्रिय तेक्वान्दो संघलाई दर्ता चलानी नै नगरेर परिषद्को लेटरप्याडमा पत्र पठाएको हो भने गम्भीर विषय भएको प्रतिक्रिया दिए । ‘अध्यक्ष वा सदस्य सचिवले जिम्मेवारी दिनुभएको छ भने अर्कै कुरा हो । उपाध्यक्षलाई दर्ता चलानी नै नभएको पत्र पठाउने अधिकार छैन’, थापाले भने, ‘यो विषय मलाई पनि धेरै थाहा छैन । म बुझ्नेछु ।’

 

अध्यक्षले दिएको अधिकार प्रयोग गरेर उपाध्यक्षले काम गर्न सक्छ । उपाध्यक्ष कोइरालाले अख्तियार दुरुपयोग गरेर परिषद्को लेटरप्याडमा देशको खेलकुदलाई बदनाम गराउने उद्देश्यले अन्तर्राष्ट्रिय संस्थालाई पत्राचार गर्नु देश र खेलाडीकै बेइज्जत गर्ने काम भएको छ । उपाध्यक्ष कोइरालाले लेटरप्याडमा कीर्ते गर्दा पनि सदस्य सचिवले कारबाही नगरेको खेलाडीको गुनासो छ ।


खेलकुद ऐन, २०४७ मा एउटा खेलको एक मात्रै संघलाई मान्यता दिने व्यवस्था छ । राजनीतिको आडमा तत्कालीन सदस्य सचिव युवराज लामालाई दबाब दिएर कोइरालाले आफ्नै नेतृत्वमा गैरकानुनी रूपमा माओवादी समर्थक राष्ट्रिय तेक्वान्दो युनियन गठन गरेका थिए ।


तत्कालीन सदस्य सचिव लामा आफैंले विभिन्न सभा–सम्मेलन र सञ्चार माध्यममा माओवादीको दबाबमा युनियन दर्ता गरेको बताउँदै आएका छन् । कोइराला नेपाल तेक्वान्दो संघमा निकै कमजोर छन् । तेक्वान्दो संघको नयाँ कार्यसमितिले कोइरालाको युनियनलाई वैधानिकता दिने प्रयास गरे पनि उनले व्यवधान खडा गरिरहेको चर्चा राखेपभित्र सुनिन थालेको छ ।

 

परिषद्भित्रै साग खेल र अन्य अन्तर्राष्ट्रिय पदक जितेर नेपाल र नेपालीको शिर उँचो बनाएको तेक्वान्दो खेललाई कमजोर बनाउने प्रयास भइरहेको प्रशिक्षक तथा खेलाडी बताउँछन् । उपाध्यक्ष कोइरालाले परिषद्लाई आप्mनो प्रभावमा पार्ने प्रयत्न गरेकै कारण तेक्वान्दो खेलाडी मारमा परेका छन् ।


अधिकार नै नभएको अधिकार प्रयोग गर्ने उपाध्यक्ष कोइरालालाई कारबाही गर्न माग उठेको छ । कोइरालालाई लागेका आरोपका विषयमा प्रतिक्रिया लिने प्रयास गर्दा भने सम्पर्क हुन सकेन ।