पालिकाका कंक्रिट मोहले नासिँदै प्रकृति


  • change font
  • change font
  • change font

काठमाडौं- संखुवासभाको धर्मदेवी नगरपालिकाले मुढे बजारमै भर्खरै सिमेन्टले चापको रूख बनायो । रुख वरिपरि सिमेन्टकै संरचना छन् । सँगै छेउमा क्रकिटकै डाँफे पनि बनाइएको छ । 

 

संरचना बनाउन नगरपालिकाको करिब २६ लाख रुपैयाँ खर्चिएको नगरप्रमुख रमेश जिसीले जानकारी दिए । नगरप्रमुखले जिसीले संरचना निर्माण गरेपछि सामाजिक सञ्चालमा यसको विरोध भयो ।  धेरैको आक्रोश ‘कंक्रिटको रुख’ बनाइएकामा थियो । त्यसको सट्टा चापकै रुख रोपेर पनि पार्क निर्माण गर्न सकिन्थ्यो भन्ने तर्क नागरिकको थियो ।  तर, नगरप्रमुख जिसी चापे डाँडाको पहिचान जोगाउन रुखको प्रतिमा बनाइएको तर्क गर्छन् । ‘गाउँको नाम पहिला चापे डाँडा रहेछ,’ उनले भने, ‘चापको पहिचान बनाउन राखिएको हो ।’

 

पहिचान बचाउन क्रंक्रिटको प्रतिमा बनाउने ‘जुक्ति’ एक्लैको भने नभएको उनको दाबी छ । ‘यो हामीले सबैको भेलामा कसरी चापेको पहिचान बनाउन सकिन्छ भनेर छलफल गर्‍यौँ ,’ उनले भने, ‘सबैले रुखकै संरचना बनाउने सहमति गरेर बनाइएको हो ।’ चाप ठूलो हुने भएकाले बाटोमा रोप्न नमिल्ने हुँदा यसो गरिएको उनको भनाइ छ । 


 
यस्तै, दैलेखको गुँरास गाउँपालिकाले ८० लाख रुपैयाँ खर्चेर पार्क निर्माण गरेको छ । पार्कमा भ्यूटावर र क्रक्रिटको गुँरास बनाइएको छ । पार्क निर्माण गर्दा पालिकाले भएका गुँरासको रुख फाँडेर क्रंक्रिटको बनाएको हो । पर्यटनलाई प्रवद्र्धन गर्न पार्क निर्माण गरिएको पालिकाको तर्क छ ।

 

तेह्रथुमको लालीगुँरास नगरपालिकामा पनि कंक्रिटकै गुँरास बनाइएको छ । वसन्तपुरले गुँरासको राजधानीको पहिचान बनाएकाले त्यहाँ गुँरास पहिचान जोगाउने नाममा कंक्रिटको गुँरास बनाइएको हो । त्यस्तै यहि नगरमा पर्ने लसुनेमा लसुनको प्रतिमा बनाइएको छ । तर, नगरप्रमुख अर्जुन मावोहाङ आफूले यस्तो संरचना नबनाएको बताउँछन् । निर्वाचित भएर आउनुअघि नै बनेको दाबी उनको छ ।

 

‘हामीले यस्तो क्रंक्रिटको संरचना बनाएका होइन,’ उनले भने, ‘निर्वाचित भएर आउनु पहिले नै बनिसको थियो ।’ यस्ता कुरामा सचेत रहेकोले आफूले बनाएका पार्क प्रकृतिमैत्री भएको दाबी उनको छ । ‘हामीले बनाएको चोखलुङ पार्क प्रकृतिमैत्री छ,’ उनले भने, ‘म पर्यटन बुझ्ने मान्छे हो । यस्तो काम गर्दिनँ । लसुनको पिलर पनि बनेको छ । तर, त्यो पनि हामीले बनाएको होइन ।’ 

 

धनकुटाको सहिदभूमि गाउँपालिकाले पनि क्रंक्रिटको सुन्तला निर्माण गरेको छ । सहिदभूमिका अध्यक्ष मनोज राईले निर्वाचित भएर आएपछि सबैले सुन्तलाको प्रसिद्ध ठाउँ भएकाले बनाउन जोड दिएपछि निर्माण गरिएको बताए ।

 

‘सुन्तलाका लागि प्रसिद्ध ठाउँ हो,’ उनले भने, ‘सबैले यसलाई प्रवद्र्धन गर्नुपर्छ भनेकाले बनाइयो । तर, पछि यस्ता अनुत्पादक क्षेत्रमा लगानी गरेका छैनौँ ।’ अहिले नगरलाई प्रकृतिमैत्री बनाउन बिरुवा बाँडेरै रोप्न लगाउन थालेको उनको भनाइ छ ।  यस्तै, धनकुटामै महालक्ष्मी नगरपालिकाले सिमेन्टकै रुद्राक्षको रुख र धनकुटा एभोकार्डाे बनाएको छ । धनकुटाले एभोकार्डोको सहर बनाउन यस्तो गरिएको बताएको छ । 

 

सिन्धुलीको सिन्धुलीमामाढीमा प्राकृतिक गुलमोरको बोट काटेरै क्रंक्रिटको जुनार बनाइएको छ । गुलमोरको बोटले मानिसलाई वरिपरि बस्दा शितल छाहारीको काम गरेको थियो । तर, अहिले त्यस्तो अनुभूत गर्न पाइँदैन । 

 

उदयपुरको चौदण्डीगढी नगरपालिकाले पनि बेल्टरमा बेलको प्रतिमा बनाएको छ । पर्यटकीय क्षेत्र बनाउने भन्दै २५ लाख रुपैयाँ खर्चिएर बनाइएको पार्कमा सिमेन्टको बेल निर्माण गरिएको हो । 

 

उपत्यकामा क्रंक्रिट मोह

 

उपत्यकाका पालिकाहरूले पनि अधिकांश आफ्ना क्षेत्रको खुला ठाउँ संरक्षण गर्ने भन्दै पार्क बनाएका छन् । काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्र धेरै पार्क बनाइसकेको छ । तर, ती अधिकांशमा पार्कमा रुख बिरुवालाई भन्दा क्रंक्रिटको प्रयोगलाई जोड दिएको छ । 

 

धेरै पार्कमा मूर्तिलगायत कंक्रिटका संरचना बनेका छन् । महानगरले तिनकुनेमा बनाउने भनेको बुद्ध पार्कमा पनि बुद्धको ठूलो मूर्ति, पार्किङ बनाउने डिजाइन गरेको छ । तर, निर्माण भने अहिलेसम्म हुन सकेको छैन । महानगरले रानीपोखरी र कमलपोखरीको पुनर्निर्माण गर्दा क्रंक्रिट प्रयोग गरेको भनेर सम्पदा अभियन्ताले विरोधसमेत गरे ।

 

रानीपोखरीमा भुइँमा सिमेन्ट लगाउने नगरप्रमुखको योजनाले विवाद भएको थियो । त्यसपछि त्यसको पुनर्निर्माण पुनर्निर्माण प्राधिकरणले गरेको हो । यस्तै, कमलपोखरीमा क्रंक्रिटको कमल राख्ने भएपछि त्यसको विरोधमा बृहत् नागरिक आन्दोलन र सम्पदा अभियन्ताले विरोध गरे । 

 

सचेत छैनन्, जनप्रतिनिधि


यो एक–दुई पालिकाको मात्रै कुरा होइन । देशैभरका अधिकांश पालिकाहरूले विकासका नाममा क्रंकिटको संरचना बनाउन जोड दिएका छन् । कतिले आफ्नै बनाएका छन् भने कतिपयले ठूला नगरपालिकाको देखासिकी गरेर निर्माण गरेका हुन् । 

 

प्राकृतिक सौन्दर्यलाई कुरुप बनाउने गरी क्रंकिटका पार्क बनाएको आलोचना भएपछि कतिपय जनप्रतिनिधि सचेत हुन थालेका छन् भने कतिपय भने अझै पनि यस्ता कुरामा जोड दिइरहेका छन् ।


यसको आलोचना भएको समेत सुन्न मन पराउँदैनन् । उनीहरूलाई आपूmले गलत गरियो भन्नेसमेत छैन । उनीहरू यस्ता संरचना बनाएर पर्यटनमा विकास गर्ने गफ हाँकिरहेका हुन्छन् । 

 

चौदण्डीगढीका नगरप्रमुख खगेन्द्र राईलाई ‘कंक्रिटको बेल’ बारे प्रश्न गर्दा यस्ता साना कुरामा फोन गरेर काममा अवरोध नगर्न जवाफ दिए । ‘प्रदेशको पैसा ल्याएर बनाइएको हो,’ उनले भने, ‘यस्ता सामान्य बेलको रुखको सट्टा किन सिमेन्टको बनाइएको भनेर डिस्ट्रब नगर्नुस् । हामी काम गरिरहेका छौँ ।’ उनी पार्क बनाउँदा प्राकृतिक विषयमा जोड दिन सकिन्थ्यो भन्ने कुरा अझै सचेत देखिएनन् । 

 

जनप्रतिनिधिमा ‘सो अप’ को प्रतिस्पर्धा

 

पूर्वसचिव तथा पूर्वाधारविद् किशोर थापा स्थानीय सरकार पूर्वाधार क्षेत्रमा लगानी गर्नुको सट्टा देखावटी काम अर्थात् प्रदर्शनीमा लागेका बताउँछन् । ‘पानी, सिँचाइ, विद्युत्, ढललगायत पूर्वाधारमा पालिकाहरूले लगानी गर्नुपर्ने हो,’ उनले भने, ‘तर, देखासिकीकै कारण कुनै स्थानीय तहमा कंक्रिटको बंगुर बनाउने, कसैले कंक्रिटको एभोकाडो बनाउने, कसैले कंक्रिटको जुनार बनाउने, कसैले लसुन बनाउनेजस्ता गतिविधि स्थानीय तहमा छ्याप्छ्याप्ती देखिन थालेका छन् ।’

 

कंक्रिटको एभोकाडो बनाउनुभन्दा स्थानीय तहले त्यसको प्याकिङ कसरी गर्ने, त्यसको निकासी कसरी गर्ने, त्यसबाट आयआर्जन कसरी गर्ने, एभोकाडोका परिकार कसरी बनाउने भन्ने तालिम दिनुपर्नेे उनको सुझाव छ । कंक्रिटको एभोकाडो, कागती, जुनारजस्ता वस्तु निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको उनले बताए । 


‘अहिले स्थानीय जनप्रतिनिधिको ‘सो अप’ गर्न प्रतिस्पर्धा चलिरहेको छ,’ उनले भने, ‘यसले त्यहाँका स्थानीयको जीवन स्तरमा कुनै पनि सुधार ल्याउँदैन । स्थानीय अर्थतन्त्रमा कुनै सुधार गर्दैन । स्थानीय तहमा कतै भ्युटावर बनाउने प्रतिस्पर्धा छ, कतै मूर्ति । यस्ता कृत्रिम वस्तु बनाउने प्रतिस्पर्धाले अन्ततः राम्रो काम गर्दैन । यो जनताले तिरेको करको दुरुपयोग हो ।’

 

क्रंक्रिटले पर्यावरणीय क्षति 


खुला ठाउँलाई मासेर भ्युटावर बनाउनु वातावरणीय दृष्टिले राम्रो नभएको वातावरणविद् भूषण तुलाधरले बताए । ‘हामीले पार्क निर्माण गर्दा पानीलाई जमिनमुनि जाने गरी बनाउनुपर्छ,’ उनले भने, ‘खुला ठाउँ मासेर क्रंक्रिटको संरचना बनाउँदा हाम्रो पारिस्थितिक प्रणाली बिग्रन्छ ।’

 

प्रकृति एउटा प्रणली भएकाले एकअर्कोलाई बचाएर राखेको हुने उनले सुनाए । प्रकृतिलाई नखल्बल्याउने गरी विकास गरियो भने मात्रै दिगो विकास हुने उनको धारणा छ ।


पार्क निर्माण गर्दा हरियाली नै रमाइलो हुने भएकाले यसमा अन्य त्रंmक्रिटका संरचना निर्माण गर्नुपर्ने आवश्यकता नरहेको उनले बताए । ‘रुख–बिरुवा मासेर कंक्रिटका रुख बनाउँदा पर्यावरणीय क्षति पुग्छ,’ उनले भने, ‘रुखले हामीलाई दिने सेवा रोकिन्छ । क्रंक्रिट यस्तो वस्तु हो, जुन बनाउँदा पनि धेरै ऊर्जा खपत हुन्छ । बनाएपछि पनि यसले प्रकृतिलाई राम्रो गर्दैन ।’


डाँडाको टुप्पाबाट यसै राम्रो दृश्य देखिने भएकाले संरचना बनाइनु आवश्यक नरहेको उनको तर्क छ । प्रकृतिप्रति आस्था खिइँदै गएकामा उनले चिन्ता व्यक्त गरे । स्थानीय तहमा भ्युटावर र पार्क निर्माण गर्ने देखासिकी चलिरहेको उनको ठम्याइ छ । साना पालिकाहरूले ठूलाबाट सिकेकाले ठूला नगरबाटै सुधार गर्दै लैजानुपर्ने उनको तर्क छ ।