close

लुम्बिनी सरकार कृषिमैत्री बन्दै 

लुम्बिनी सरकार कृषिमैत्री बन्दै 

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीेले प्रदेश सरकार कृषिमैत्री बन्दै गएको बताएकी छन् । बिनाविभागीयको जिम्मेवारीमा रहँदा प्रदेशका विभिन्न जिल्लामा कृषिसम्बन्धी छलफल गरेको बताउँदै उनले अब कृषिमन्त्रीको रूपमा किसानका समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाइन् । 


बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले सरकारले कृषिमैत्री बजेटको व्यवस्था गरेको र हेफरलगायत संघ–संस्थासँग सहकार्य गर्दै कृषि क्षेत्रको व्यावसायिकतामा जोड दिइने बताइन् । 


कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले प्रदेशमा ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेकाले कृषिबाट आत्मनिर्भर बन्न प्रदेश सरकारले कृषिमैत्री बजेट ल्याएको दाबी गरिन् ।


कोरोना संक्रमणपछि विदेशमा भएका युवाले स्वदेश फर्किएर कृषि क्षेत्रमा लगानी गर्न चाहेको उल्लेख गर्दै सरकारले कृषिमा लगानी गर्ने युवालाई सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् । 


हेफर इन्टरनेसनल नेपालका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्र लोहनीले दुग्ध तथा मासुजन्य उत्पादनका लागि हेफरले कृषकलाई सहयोग गर्दै आएको जानकारी दिए ।  सीमान्तकृत नागरिकको आयआर्जन वृद्धि गर्दै अमेरिकी सरकारको अनुदानमा २१ वटा मुलुकमा हेफरले सहयोग गर्दै आएको उनको भनाइ छ ।

 

कृषकको आयआर्जन वृद्धि गर्न नेपालमा मासु र दुग्धजन्य उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । बुटवलमा बन्दै गरेको वधशाला निर्माणका लागि २३ करोड रुपैयाँ सहयोग गरिएको लोहनीले बताए । प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै लुम्बिनी प्रदेशमा गरिबी निवारणका लागि हेफरले काम गर्ने उनले जानकारी दिए ।


हेफरका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले नेपालमा ३ लाख परिवार संस्थाबाट लाभान्वित भएको दाबी गरे । पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सरकारबाट आउने कृषिका अनुदान वास्तविक कृषसम्म पुग्न नसकेको गुनासो पोखे ।  सरकारबाट आउने अनुदान फर्जी कागज देखाएर नक्कली कृषकले पाउने गरेकाले यसलाई रोक्न सरकारी निकाय सचेत हुनुपर्नेमा उनले जोड दिए ।