close

प्रभावकारी हुँदै बुटवलको सहरी कृषि योजना 

प्रभावकारी हुँदै बुटवलको सहरी कृषि योजना 

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उपमहानगरले सञ्चालन गरेको सहरी कृषि प्रवद्र्धन कार्यक्रम प्रभावकारी देखिएको छ । किसानलाई अनुदानमा बिउ तथा उपकरण वितरण, फसल धितो राखेर अनुदान, जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान, कौसीमा तरकारी खेती, जैविक मल र महामारीमा आर्थिक प्रोत्साहन कार्यक्रमसहित सहरी कृषि प्रवद्र्धन अभियान सञ्चालन गरेको छ । 


उपमहानगरले सञ्चालन गरेका कार्यक्रम सहरी कृषिमा समर्पित धेरैका लागि आयआर्जनका सारथि बनेका छन् । किसानले व्यक्तिगत रूपमै र समूह बनाएर व्यावसायिक कृषि कर्म सुरु गरेका छन् । उपमहानगरले विज्ञमार्फत व्यावसायिक कृषि गरिरहेकालाई खेती प्रणाली र व्यवस्थापनसमेतका काममा सहजीकरण गर्दै आएको छ ।  


उपमहानगरको अनुदान व्यवस्थासहितका कार्यक्रमबाट लाभ लिएका वडा नम्बर १२ का भूपेन्द्र सारुसहितको समूहका चार जना अहिले नमुना व्यावसायिक किसान बनेका छन् । विदेश जाने सोचमा रहेका उनी सहरी कृषिमा आबद्ध भएपछिका दिनमा आम्दानीले खुसी छन् । उनीसहित परिवारमा समेत प्रशस्तै काम पुगेको छ र बेरोजगार बन्नुपरेको छैन ।


उनीहरूलाई जैविक तरकारी उत्पादन किसान भनेर धेरैले चिन्छन् । उपमहानगरले यस्ता किसानका फसललाई सहकारीमार्फत बजारको समेत सुनिश्चितता गरेको छ । उनीहरूको समूहले पूर्ण जैविक तरकारी उत्पादन गरेर आफ्नो मात्रै जीवन धानेको छैन, बुटवललाई स्वच्छ तरकारी पनि खुवाएको छ । 

 

सारु भन्छन्, ‘अझै पनि धेरैले हेला गरेको र चासो नदिएको पेसाको रूपमा छ, कृषि तर मेरा लागि महत्त्वपूर्ण निर्णय सावित भएको छ । यसमा उपमहानगरको सहयोगले भूमिका खेल्यो ।’  बिउ मात्रै होइन, त्यसपछि उनको समूहलाई उपमहानगरले छाप्रा हाल्न, टनेल बनाउन र पशुपालनका लागि घाँस काट्ने मेसिन किन्न, पशुपालनका लागि दाना, नश्ल सुधार, गोठ सुधारसम्मका धेरै काममा अनुदान दिएको छ ।

 

संघीय र प्रदेश सरकारसंगको सहकार्यमा उपमहानगरले अरू थप प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । खेतबालीसम्मै पुगेर कृषिबारे प्राविधिक ज्ञान, सीप र बाली पात्रोअनुसारको तरिका सिकाउनुका साथै आवश्यक उपकरण दिने र उत्पादित उपजको बजारीकरणमा पनि उपमहानगरले टेवा पु¥याउँदै आएको छ । विपन्नको पहिचान गरेर बाख्रापालनका लागि बाख्रा वितरण र त्यसका लागि खोर बनाउने रकमसमेत उपमहानगरले उपलव्ध गराउँदै आएको छ । 

 

कृषि क्षेत्रमा केही गर्न चाहने सयौँको सारथि बनिरहेको छ, उपमहानगरको सहरी कृषि प्रवद्र्धन कार्यक्रम । नगरप्रमुखका रूपमा शिवराज सुवेदी र उपप्रमुख गुमादेवी आचार्य चुनिएर आउनुअघि बुटवलमा कुनै पनि व्यावसायिक कृषक समूह थिएनन् । तर, अहिले यहाँ धेरैजसो वडामा कृषकका व्यावसायिक समूह बनेका छन् ।

 

समूहमा आबद्ध भएकाहरूले व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । महिलाका समेत अलग्गै समूह दर्ता भएर कृषि कर्मलाई प्रभावकारी बनाइरहेका छन् ।  कृषि कर्ममा पनि अब्बल बनिरहेका अगुवा महिला मधुकला कुवँर, सावित्रा रेग्मीलगायतले बुटवलको सहरी कृषि प्रवद्र्धन कार्यक्रमले धेरैलाई आकर्षित गरेको बताउँछन् । बुटवल भीडभाड भएको व्यस्त बजार क्षेत्र मात्रै होइन, व्यवस्थित खेतीपाती गर्ने उपयुक्त जमिन भएको क्षेत्र पनि हो भन्ने कुरालाई सहरी कृषि प्रवद्र्धन कार्यक्रमले सावित गरिरहेको महिला अगुवा रेग्मीको भनाइ छ । 


भूपेन्द्र सारुको जस्तो २० वटा व्यावसायिक कृषक समूह उपमहानगरको कृषि नीतिबाट प्रत्यक्ष लाभान्वित भइसकेको कृषि शाखाको तथ्यांकमा उल्लेख छ । उपमहानगरबाहेक प्रदेश सरकारबाट अनुदान लिने गरी अरू केही समूह पनि बुटवलमा छन् । तीबाहेक बुटवलमा अहिलेसम्म १ सय जना व्यावसायिक कृषक, ८ वटा व्यावसायिक उत्पादक समूह, ५ वटा कृषि सहकारीले उपमहानगरकै सहयोगमा व्यावसायिक कृषि अँगाल्दै आएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

 

रासायनिक मल व्यवस्थापनका लागि मात्रै बुटवलमा १२ वटा सहकारीले जिम्मा पाएका छन् । किसानका घरदैलोमा रहेका वडा कार्यालयबाटै अनुदानको मल वितरणका लागि उपमहानगरले स्वीकृति दिएको छ । जथाभावी रासायनिक मल प्रयोगमा बन्देज लगाइएको छ । जैविक खेतीका लागि जैविक मल उत्पादन गर्न पनि उपमहानगरले अनुदान व्यवस्था गरेको छ । 


तीबाहेक बाँझो जग्गा सदुपयोग गर्ने गरी जग्गा भाडामा अनुदान, उत्पादनमा आधारित कार्यक्रम, व्यावसायिक तरकारि उत्पादन पकेट विकास कार्यक्रम, व्यावसायिक मौरीपालन, फलफूल बगैँचा स्थापनाका लागि सामूहिक खेती, कृषि औजार उपकरणमा अनुदान, कौसीमा तरकारी खेती कार्यक्रम, एक स्थानिय तह, एक उत्पादनजस्ता कार्यक्रमले बुटवलको कृषि क्षेत्र कायापलट भएको छ ।

 

बुटवलले ५ स्थानलाई तीन क्लस्टरमा बाँडेर करिब ४ सय कठ्ठाको तरकारी पकेट क्षेत्र पनि बनाएको छ । च्याउमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत दुई वटा च्याउ उत्पादन पकेट क्षेत्र निर्माण गरिएको छ । यसको अलग्गै समूह निर्माण भएको छ । च्याउका यी समूहले एक सिजनमा मात्रै २ सय ५० क्विन्टल ताजा च्याउ उत्पादन गरी २७ लाख रुपैयाँको च्याउ बिक्री गर्न सफल भएको अगुवा महिला जमुना सुवेदी पोखरेलले बताइन् । 


रसायनविहीन ताजा अर्गानिक तरकारी उत्पादन गर्न बुटवलले ८० वटा हरितगृह निर्माण गरेको र जैविक मलमा आकर्षण बढाएको छ । त्यस्तै, बाली धितो राखी सहकारीलाई सहुलियत कृषि ऋण दिने कार्यक्रमअनुसार गत वर्ष बुटवलले धान बालीमा मात्रै ४ सय ५० मेट्रिक टन र गहुँ बालीमा २ सय ७५ मेट्रिक टन बाली धितोमा राखेर साना किसानलाई अनुदान दिएको थियो । 

 

धान रोप्ने र काट्ने खेतालाका लागि पारिश्रमिक दिनसमेत पैसा नभएका किसानले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् । स्थानीयको जीवनस्तर उकास्न कृषि विकासलाई नै प्रमुख नीति बनाएको बुटवलले ‘के पाइन्छ होइन के चाहिन्छ’ भन्ने आधारमा कृषि विकासका कार्यक्रम सञ्चालन भइरहेको उपमहानगर प्रमुख सुवेदीको भनाइ छ ।


स्थानीयलाई कृषिबाट विमुख नबनाई दिगो जीवनस्तर वृद्धिका लागि आधुनिक व्यावसायिक कृषि विकासको लक्ष्यलाई साकार बनाउन सहरी कृषि लक्षित कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख सुवेदीले बताए । बुटवलमा कृषि विकासका कार्यक्रम नगर प्रमुखकै अध्यक्षतामा रहेको स्थानीय कृषि व्यवसाय सञ्चाल समितिमार्फत सञ्चालन भइरहेका छन् । बुटवलले अँगीकार गरेको कृषि नीतिले उपमहानगरमा रहेको ३ हजार ९ सय ३९ हेक्टर खेतीयोग्य जग्गामा कृषि उत्पादन गर्ने योजना अगाडि सारेको छ ।