close

मोतिपुर औद्योगिक क्षेत्र : डिपिआर तयार भए पनि स्थानीयको अवरोध कायमै 

मोतिपुर औद्योगिक क्षेत्र : डिपिआर तयार भए पनि स्थानीयको अवरोध कायमै 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा भएको ढिलाइप्रति यस क्षेत्रका व्यावसायिक संघ–संस्थाले चासो र चिन्ता व्यक्त गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले आयोजना गरेको मोतिपुर औद्योगिक क्षेत्रसम्बन्धी छलफलमा यस क्षेत्रका व्यावसायिक संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिले औद्योगिक क्षेत्र निर्माणमा भएको अवरोध र त्यसले आर्थिक क्षेत्रमा पार्ने प्रभावबारे चिन्ता व्यक्त गरे ।
 
२०६० देखि नै औद्योगिक क्षेत्रको अवधारणासहित बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले पहल गर्दै आएको थियो । त्यतिबेला मुलुक द्वन्द्वमा गुज्रिएकाले सोचेजस्तो गरी मुद्दा उठान हुन भने सकेन ।  संघको तर्फबाट मोतिपुर औद्योगिक क्षेत्रका संयोजक नवराज श्रेष्ठले भने, ‘२०६६ तिर यसले गति लिन सुरु गरेको हो । त्यतिबेला २३८ बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणका लागि पहल भएको थियो ।

 

त्यसमा डिपिआरसमेत तयार भइसकेको थियो । पछि ७ वटै प्रदेशमा १ हजार बिघामा औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारी अवधारणासहित मोतिपुर औद्योगिक क्षेत्रको काम अगाडि बढ्यो ।’ सोहीअनुसार गत २१ चैतमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अवरोधका बीच उक्त औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि काम भने अगाडि बढ्न सकेको छन् । कारण हो, स्थानीयको अवरोध । 

 

स्थानीयको अवरोध र जग्गा अतिक्रमण हुन थालेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा अहिले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका बीच पनि स्थानीयले बलजफ्ती गरेपछि प्रहरीसँग झडपसमेत भएको थियो ।  बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख तथा मोतिपुर औद्योगिक क्षेत्र परियोजना प्रमुख निमेश अधिकारी भने अहिले स्थानीयले टहरा हाल्ने र आफूहरूको तर्फबाट टहरा भत्काउने काम मात्रै भएको बताउँछन् । उनले भने, ‘उनीहरू आउने, बस्ने र प्रहरीले हटाउने काम भइरहेको छ ।’

 

मोतिपुर औद्योगिक क्षेत्र निर्माणका लागि सर्वदलीय राजनीतिक लबिइङ आवश्यक देखिएको उनको बुझाइ छ ।  बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले मोतिपुर औद्योगिक क्षेत्र निर्माणपछि यस क्षेत्रमा औद्योगिक वातावरण बन्ने विश्वास गरिए पनि अवरोधका कारण भएको विलम्बले चिन्तित बनाएको बताए । सरकारका तर्फबाट त्यहाँ देखिएको समस्या व्यवस्थापन गरेर मात्रै काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

 

रूपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले ठूलो औद्योगिक क्षेत्र बनाउने परिकल्पना अप्ठेरो स्थितिमा पुगेको बताउँदै पहिले त्यहाँ देखिएका समस्यालाई सम्बोधन गरेर मात्रै काम अगाडि बढाउन उपयुक्त हुने धारणा व्यक्त गरे । रूपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले पहिले सुकुम्बासीका समस्या समाधान गरेर मात्रै औद्योगिक क्षेत्र निर्माण अगाडि बढाइयो भने त्यसले सार्थकता पाउने बताउँदै यो राजनीतिक मुद्दासमेत भएकाले निकास पनि सोहीअनुरूप खोजिनुपर्नेमा जोड दिए । 


उद्योग व्यापार संघका अध्यक्ष गोविन्द गैरे, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका उपाध्यक्ष उपेन्द्र अग्रवाललगायतले मोतीपुरको यकिन तथ्यांकसहित प्रस्ताव तयार गरेर समाधानको खोजी गर्न सकिने बताए ।  बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले औद्योगिक क्षेत्र निर्माणमा भएको अवरोधले उद्योगी व्यवसायीलाई चासो र चिन्ता भएको सुनाए । कार्यक्रममा यस क्षेत्रका व्यावसायिक संघ–संस्थाका प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका सल्लाहकार, पूर्वअध्यक्षहरू, पदाधिकारी तथा सदस्यको सहभागिता थियो ।