close

मन्त्री लामाले गरे दाप्चा सडक उद्घाटन

मन्त्री लामाले गरे दाप्चा सडक उद्घाटन

Trulli
ADVERTISEMENT

काभ्रे– बागमती प्रदेश सरकारका मन्त्री चन्द्र लामाले फूलबारी–नमोबुद्ध–दाप्चा–तल्लोहटिया–काँक्रे सडकको उद्घाटन गरेका छन् । मन्त्री लामाले प्रदेश सरकारको सहयोगमा कालोपत्रे भएको उक्त सडक उद्घाटन गरेका हुन् । 

 

काभ्रे–भन्ज्याङ–नमोबुद्ध–काँक्रे सडक आयोनाअन्तर्गत पूर्वाधार विकास कार्यालय काभ्रेमार्फत फूलबारीदेखि तल्लो हटियासम्म उक्त सडक कालोपत्रे भएको छ ।
यसमध्ये दाप्चाको पुरानो बजार क्षेत्रमा भने यस वर्ष ढलानसहित ढुंगा बिछ्याउने कार्य हुँदै छ । ८ दशमलव ५ किलोमिटर लम्बाइको उक्त सडक निर्माणका लागि १५ करोड ७० लाख ७१ हजार ८ सय ७२ रुपैयाँ खर्च भएको छ । 

 

संविधानसभा सदस्य रामहरि सुवेदीको कार्यकालमा डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण सुरु भएको सडक कालोपत्रे गर्ने काम प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएसँगै आर्थिक वर्ष २०७७÷७८ मा सकिएको हो । पूर्वाधार विकास कार्यालयमार्फत २०७४ ८ असार २०७४ मा सम्झौता भई सडक निर्माण सुरु भएको थियो । 

 

सडक उद्घाटन गर्दै मन्त्री लामाले सडक कालोपत्रे गर्न आफू निर्वाचित भएदेखि नै लागिपरेको र त्यसैको परिणाम सडक योजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए ।

 

उक्त सडकलाई काँक्रे हुँदै बिपी राजमार्गको चरंगेफेदीसम्म जोड्ने योजना अघि बढिसकेको उनले बताए । सडक कालोपत्रे भएपछि दाप्चा क्षेत्रका नागरिकका लागि यातायात सुविधामा थप सहज हुनेछ ।

 

मुख्य सडकसँगै सहायक सडक निर्माणको काम पनि अघि बढाइएको उनको भनाइ छ ।  कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदीले वर्षौंदेखि निर्माण हुन नसकेको सडक आफ्नो कार्यकालमा सुरु भई सम्पन्न भएकामा खुसी व्यक्त गरे ।

 

यस्तै, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले दाप्चा सडक निर्माणका लागि पहल गर्ने संविधानसभा सदस्य सुवेदी, प्रदेश सरकारका मन्त्री लामालगायतप्रति आभार प्रकट गरे । कार्यक्रममा पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीले सडक निर्माणको प्राविधिक पक्षका विषयमा जानकारी गराए ।

 

नमोबुद्ध नगरपालिका वडा नम्बर १ का अध्यक्ष कर्म ग्याल्बो लामाको सभापतित्वमा सम्पन्न कार्यक्रम वडा नम्ब। ११ का वडाध्यक्ष कृष्णबहादुर तामाङले सञ्चालन गरेका थिए । 

 

यसैगरी नमोबुद्ध नगरपालिका वडा नम्बर ८ को नवनिर्मित पक्की वडा कार्यालय भवनको शनिबार उद्घाटन गरिएको छ । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामाले शनिबार कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

 

नमोबुद्धले सबै वडा कार्यालयको पक्की प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पु¥याउने क्रममा आर्थिक वर्ष २०७७÷७८ मा एकैसाथ पाँच वटा वडा कार्यालय भवन निर्माण गरेको थियो ।

 

त्यसमध्ये वडा नम्बर २, वडा नम्बर १० र वडा नम्बर ११ को कार्यालय भवन यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । शनिबार वडा नम्बर ८ को भवन उद्घाटन भएसँगै अब वडा नम्बर ९ को भवन उद्घाटन हुन बाँकी छ । उक्त भवन निर्माणसमेत सम्पन्न भइसकेको छ । 

 

यसअघि नै वडा नम्बर ३ र ६ को वडा कार्यालय निर्माण भइसकेको छ भने चालू आर्थिक वर्षमा वडा नम्बर १, ४ र ५ को भवन निर्माण ठेक्का सम्झौता भएको छ ।
वडा नम्बर ८ को भवन निर्माणका लागि ४१ लाख १७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

 

वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामाले आफू प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि नै निर्वाचन क्षेत्र तथा समग्र नगरपालिकाको विकास र समृद्धिका लागि पहल गर्दै आएको बताए ।

 

नमोबुद्ध नगरका हरेक टोलसम्म आफूले सक्दो योजना तथा बजेट पु¥याएको बताउँदै लामाले आगामी दिनमा पनि समृद्ध नमोबुद्धको सपना साकार पार्न प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

 

नमोबुद्धमा सडक, खानेपानी, सिँचाइलगायत सुविधाका लागि सक्दो काम गरेको उनको भनाइ छ । आफू मन्त्री बनेको महिना पूरा हुने बताउँदै लामाले कृषि, सहकारी क्षेत्रको विकासका लागि कार्ययोजना निर्माण गरिसकेको र त्यसलाई क्रमशः कार्यान्वयनमा लैजाने बताए । 

 

कार्यक्रममा नमोबुद्धका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकाको प्रमुख प्रशासकीय भवन, सबै वडा कार्यालयको पक्की भवन, स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न हुने क्रममा पुग्नु आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धि भएको बताए । नगरमा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र पर्यटन क्षेत्रको विकाससँगै समृद्ध नगरको सपना साकार पार्न आफूहरू लागिपरेको उनको भनाइ छ ।

 

नगर प्रमुख तिमल्सिनाले नगरको गौरवको रूपमा मेथिनकोट अस्पताल प्रदेश अस्पतालको रूपमा स्तरोन्नति भएको, उक्त अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको, दाप्चा सडक कालोपत्रे भएको बताए । नगरका सबै वडामा सडक निर्माणको काम अघि बढेको तथा दाप्चाबाट नगरपालिका केन्द्रसम्म पुग्ने सडक पक्की बनाउन काम भइरहेको जानकारी दिए । 

 

नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यवहारमै कार्यान्वयन गर्न, नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्न सबै वडा कार्यालय भवन निर्माण भएको बताए । भौतिक पूर्वाधार निर्माणमा नमोबुद्धले एक कदम अघि रहेर काम गरेको तथा नागरिकलाई सहज होस् भन्ने उद्देश्यले वडा कार्यालय तथा अनलाइनमार्फत घरबाटै राजस्व तिर्न सक्ने व्यवस्था गरिएको पौडेलले जानकारी दिए ।

 

वडा नम्बर ८ का वडाध्यक्ष शेरबहादुर तामाङले आफू निर्वाचित भएपछि वडामा सडक, विद्यालय, स्वास्थ्य संस्था निर्माणको काम तीव्र गतिमा अघि बढाइएको बताए । सरोकारवालाको साथ र सहयोगले वडामा विकासको काम निरन्तर अघि बढिरहेको तामाङको भनाइ छ ।

 

वडामा आउने सानो बजेटले ठूला योजना कार्यान्वयनमा समस्या भए पनि अन्य निकायको सहयोगमा वडामा सडकको स्तरोन्नति, विद्यालय निर्माण स्वास्थ्य संस्था निर्माणलगायत काम गरिएको उनले सुनाए । 

 

कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष मेलबहादुर लामा, तत्कालीन डराउने पोखरी गाविसका पूर्वअध्यक्ष उद्धवप्रसाद हुमागाईंलगायतले मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामालाई मन्त्री नियुक्त भएकामा बधाइसहित सम्मान गरिएको थियो । दाप्चा सडक निर्माण गर्ने ठेकेदार कम्पनीका प्रोप्राइटर धर्म लामा, इन्जिनियर अनिल पौडेल, महिला स्वास्थ्य स्वंयसमेविका, विभिन्न संघ–संस्थाका प्रतिनिधिलगायतलाई पनि सम्मान गरियो ।

 

कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, वडाध्यक्षहरू, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, निर्माण व्यवसायीलगायतको उपस्थिति थियो ।