close

बागलुङमा खुल्यो कृषि हाट तथा थोक बजार

बागलुङमा खुल्यो कृषि हाट तथा थोक बजार

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङ बजारमा कृषि हाट तथा थोक बजार  सञ्चालनमा आएको छ । किसान, व्यवसायी र सरोकारवाला संस्थाको आग्रहपछि बजार सञ्चालनमा ल्याइएको हो । बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालनमा आएको ‘कृषि हाट तथा थोक बजार’को बागलुङ नगर प्रमुख जनकराज पौडेलले शुभारम्भ गरे । कृषि ज्ञानकेन्द्र,  नगरपालिका र उद्योग वाणिज्य सङ्घको समन्वयमा हाट तथा थोक बजार व्यवस्थापन समितिले बजार सञ्चालनमा ल्याएको हो । 

 

सो अवसरमा नगरप्रमुख पौडेलले ‘हिजो बजारबाट ल्याएर खाने अहिले गाउँकै अर्गानिक उत्पादन खान थालेका छन् । किसानले कर्मबाट चाहेको जति उपलब्धि हासिल गर्न सकेका छैनन् ।’ गुठीमा हरेक हप्ता शनिबार हाट बजार र अन्य दिन थोक बजार सञ्चालनमा आउने हाट तथा थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाले बताए । 

 

समितिले हरेक दिन फलफूल तथा तरकारीको मूल्यसमेत तोक्नेछ । अहिलेसम्म बागलुङमा फलफूल तथा तरकारीको मूल्य बजारमा मोलमोलाइकै आधारमा निर्धारण हुने गरेको थियो । किसानको उत्पादनले मूल्य पाउने र उपभोक्ताले ताजा फलफूल तरकारी पाउने वातावरण बनाउनका लागि हाट तथा थोक बजार सञ्चालनमा ल्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । 

 

‘थोक बजारबाट अरु व्यापारीले पनि किनेर लैजान सक्नुहुन्छ, पाँच किलोभन्दा माथि लानेले थोक मूल्यमा फलफूल तरकारी पाउनुहुन्छ’, उनले भने, ‘बाहिरको तरकारी यहाँ ल्याउन पाइँदैन, बागलुङमै फलेको तरकारीले स्थान पाउनुपर्छ ।’ सङ्घका अध्यक्ष युवराज राजभण्डारीले किसान आफैँले बिक्री गर्ने भएकाले उपभोक्ताले ताजा तरकारी पाउने बताए । सङ्घले बजारलाई सघाउने उनको भनाइ थियो । जिल्ला कृषि सहकारी सङ्घसँग सहकार्य गरेर नगरपालिकाले बजार निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा पाँच लाख बजेट विनियोजन गरेको थियो । बजार निर्र्माण भएपछि दुई वर्षअघि नै सञ्चालनमा ल्याइएको भए पनि कोरोना महामारीका कारण निरन्तरता पाउन सकेको थिएन । 

 

थोक बजारसमेत थपेर दुई वर्षपछि शुभारम्भ गरिएको हो । विषादीयुक्त कृषिउपज महँगो मूल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट तथा थोक बजार सञ्चालन गरेको प्रमुख पौडेलले जानकारी दिए । आम उपभोक्ताले सुपथ मूल्यमा अर्गानिक कृषिउपज सोझा किसानको खेतबारीबाट हाट बजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाउने समितिले जनाएको छ । 

 

कृषि हाट बजार सञ्चालनमा आउँदा कृषि उपजका विचौलियाको अन्त्य हुने नगरपालिका प्रमुख पौडेलले बताए । हाल दुई हजार वर्गफिटमा १० कक्ष रहनेगरी पाँच वर्षका लागि जग्गा भाडामा लिएर त्यहाँ टहरा बनाइएको छ । जग्गाको भाडा बागलुङ नगरपालिकाले बेहेर्ने छ ।