close

एसियन तेक्वान्दो युनियनमा प्रकाशशम्शेर राणा

एसियन तेक्वान्दो युनियनमा प्रकाशशम्शेर राणा

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । दक्षिण कोरियामा आइतबार भएको भर्चुअल चुनावबाट राणा युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका हुन् । एसियन तेक्वान्दो युनियनमा आवद्ध ७० देशमध्ये निर्वाचनमा ६५ जनाले मतदान गरेका थिए । जसमा २८ काउन्सिल सदस्य र ३७ विभिन्न राष्ट्रका प्रतिनिधि सहभागी थिए । राणा यस अघिल्लो कार्यकाल युनियनमा मनोनित सदस्य थिए ।

 

राणा नेपाल तेक्वान्दो संघको अध्यक्षका नवनिर्वाचित अध्यक्ष हुन् । असोज १६ गते भैरहवामा सम्पन्न चौथो अघिवेशनबाट राणा सर्वसम्मत अर्को कार्यकालका लागि निर्वाचित भएका थिए ।

 

राणाले विं.स २०७० देखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।

 

नवनिर्वाचित संघको उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई सर्वसम्मत रुपमा चयन भएका छन् । संघले भर्खर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव समेत रहेका भानु देउवालाई पनि उपाध्यक्षमा मनोनयन गरेको छ ।

 

यसैगरी महासचिवमा दीपराज गुरुङ र कोषाध्यक्षमा कासिममिया धोबी सर्वसम्मत रुपमा चयन भएका छन् । सदस्यहरुमा कुमार लामा घिसिङ, साम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बस्याल, रवि थापा, राम गिरी, दीपेन्द्रचन्द ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज विष्ट र कोशिस खड्का छन् ।

 

नेपालको उत्कृष्ट खेलमध्येको तेक्वान्दो खेलमा अहिले संघ अन्तर्गत ५६ जिल्ला आवद्ध छन् । संघको सात प्रदेशमा छुट्टै प्रादेशिक संरचना समेत रहेको छ ।संघको अध्यक्ष निर्वाचित भएको एक सातामै एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका राणाले आफ्नो जित नेपाली तेक्वान्दोको विकासमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

 

‘एसिया विश्व तेक्वान्दोकै पावर हाउस हो । यसमा नेपालको प्रवेशले नेपाली तेक्वान्दोको आर्थिक, प्राविधिक र अन्य हिसावले पनि पहुँच पुग्ने विश्वास लिएको छु । नेपाली तेक्वान्दोलाई माथि उठाउन म सुक्दो प्रयत्न गर्नेछु,’ राणाले भने ।

 

राणाले खेलकुद विकास ऐन अनुसार नेपालका सात प्रदेश गठन भइसकेको र आगामी मंसिरभित्र प्रदेश संघको अधिवेशन समेत सम्पन्न गरेर नेपाली तेक्वान्दोलाई प्रदेशमा समेत थप बिलयो बनाउने पनि बताए । अन्तर्राष्ट्रिय एक्पोजरको हिसावले पनि एसियन तेक्वान्दो युनियनमा नेपालको उपस्थितिले थप खुशी बनाएको राणाको भनाई छ ।