वाग्मती प्रदेशसभाको बैठक : विपक्षी दलको एउटै स्वर, सरकार परिवर्तन गर्नुपर्छ 


  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशसभाको आइतबार बसेको नवौँ अधिवेशन बैठकमा विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय सरोकारको विषयलगायत प्रदेश सरकारले जनहितका लागि गरिएको कार्यको लागि आलोचनासहित आ–आफ्नो टिप्पणी प्रस्तुत गरेका छन् । उक्त बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विगतको तुलनामा सांस्कृतिक पर्वमा हुने गरेको विभेदलाई हटाउँदै परम्परागत शैलीलाई जोगाएर सांस्कृतिक रुपान्तरण गर्नु आजको आवश्यकता रहेको बताइन् ।

 

उनले दलहरूले राष्ट्रको सार्वभौम, राष्ट्रियताको सम्वद्र्धन गर्ने र जनताको बृहत हित र मानव अधिकारको संरक्षणको लागि प्रमुख एजेण्डा बनाइ अघि बढ्नुपर्ने खाँचो औँल्याइन् । मुख्यमन्त्री शाक्यले दलका शीर्ष नेताले पद, प्रतिष्ठाभन्दा नेपाल र नेपालीलाई केन्द्रविन्दुरमा राखेर विकासको लागि राजनीति गर्दा संविधानको भविष्य जीवन्त हुने विश्वास व्यक्त गरिन् ।

 

सो बैठकमा सत्तारुढ नेकपा (एमाले) संसदीय दलका सचेतक दीपक निरौलाले प्रदेशका सबै धर्म संस्कृति समुदायका व्यक्तिलाई प्रदेश सरकारले समान धारणाका साथ आफ्नो स्रोत र साधनअनुसार, सेवा सुविधा उपलब्ध गराउँदै आएको चर्चा गर्दै वर्तमान सरकारलाई सबै दलले विश्वासको मत प्रदान आग्रह गरे । सो बैठकमा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले संविधानले परिकल्पना गरेको प्रजातान्त्रिकको व्यवस्थालाई जीवन्त तुल्याउनुको सट्टा मुख्यमन्त्री र मन्त्री पद प्राप्तिका लागि आफ्नो सिद्धान्त, निष्ठा र जनताप्रति जिम्मेवार हुनुपर्ने दृढतालाई त्याग्दा प्रजातन्त्र माथि नै सङ्कट आइपरेको बताए ।

 

उक्त अवसरमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सबै नेपालीलाई दिगो शान्ति, मानव अधिकारको संरक्षण गर्न विगतको सङ्घीय र प्रदेश सरकारले सकारात्मक भूमिका खेल्न नसकेकामा चिन्ता व्यक्त गर्दै संविधानको संरक्षण गर्न र प्रदेशमा जनतालाई आधारभूत विकासप्रति आत्मनिर्भर तुल्याउन वर्तमान प्रदेश सरकार परिवर्तन गर्न आवश्यक रहेको बताए ।

 

नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई दरिलो बनाउन राजनीतिक दलका नेताहरूले आफूलाई व्यावहारिक र पद प्राप्तिको होडबाजीलाई त्यागेर जनता र राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर राजनीति गर्नुपर्ने धारणा व्यक्त गर्दै  प्रदेशको वर्तमान सरकारले कुनै किसिमको प्रभावकारी भूमिका खेल्न नसकेकाले आफ्नो दलको तर्फबाट विश्वासको मत नदिने बताए ।