close

‘लैंगिकमैत्री नमुना नगर बनाउने लक्ष्य छ’

‘लैंगिकमैत्री नमुना नगर बनाउने लक्ष्य छ’

Trulli
ADVERTISEMENT

इच्छाकुमारी गुरुङ 
उपप्रमुख, सिद्धिचरण नगरपालिका, ओखलढुंगा

 

उपप्रमुख बन्नुअघि प्राथमिक तहकी शिक्षिका थिएँ । अठारबर्से जागिर छोडेर २०७४ सालमा स्थानीय तहको निर्वाचनमा लागेँ । पेन्सन हुन दुई वर्ष मात्र बाँकी थियो । तर, जागिरको माया मारेर निर्वाचनमा होमिएँ । 


चुनावमा उम्मेदवार बन्ने र उपप्रमुख हुनेबारे कहिल्यै सोचेकी थिइनँ । नेकपा एमालेका जिल्ला कमिटी सदस्य अम्बीरबाबु गुरुङले उम्मेदवार बन्न प्रस्ताव गरे । सुरुमा अलमलमा परेँ । घरमा सल्लाह गरेँ । घरपरिवार सकारात्मक देखिएपछि चुनाव लड्ने निधो गरेँ । चार सयभन्दा बढी मतले चुनाव जितेँ । 


त्यसअघि राजनीतिबारे केही थाहा थिएन । पञ्चायतकालमा बुबा राप्रपाबाट राजनीति गर्नुहुन्थ्यो । शिक्षिका हुँदा नेपाली कांग्रेसमा आस्था राख्थेँ । तर, राजनीतिबारे धेरै बुझेकी थिइनँ । निर्वाचित भएपछि बिस्तारै सबै कुरा बुझ्दै गएँ, सिक्दै गएँ । अहिले पनि सिकिरहेकी छु । 


उपप्रमुख बनेयता दिनचर्या फेरिएको छ । मेरो श्रीमान् पनि शिक्षक हुनुहुन्छ । पहिले खाना खाएर दुवै जना सँगै स्कुल जान्थ्यौँ । अहिले उहाँ स्कुल जानुहुन्छ, म नगरपालिकातिर लाग्छु । बिहान ९ बजे घरबाट ११ किलोमिटर टाढा रहेको नगरपालिकाका लागि निस्किन्छु । नगरपालिकाले गाडीको व्यवस्था गरेको छ । बेलुका ४ बजेपछि घर फर्किन्छु । तीन वर्षयता यसरी नै दिनचर्या चलिरहेको छ ।


नगरपालिकाका योजनाहरूको अनुगमन, विभिन्न समितिका बैठक, छलफल, विकास निर्माणका योजना मागका गुनासा सुन्नेदेखि न्याय सम्पादनका काममा व्यस्त भइन्छ । एक छिन पनि फुर्सद हुँदैन । घरबाट कार्यालय जान्छु । त्यसपछि फिल्डतिर कता जाने हो त्यहाँ लाग्छु ।


अन्यत्रजस्तै सिद्धिचरण नगरपालिकाले पनि पूर्वाधार विकासलाई  प्राथमिकतामा राखेको छ । नागरिकका माग पनि विकासका योजनामै समावेश छन् । नगरपालिकाले सबै वडामा सडक, सरसफाइ, बिजुली र खानेपानी पुर्‍याउने घोषणा गरेको छ । त्यहीअनुसार काम गरिरहेका छौँ । 


महिला सशक्तीकरण र हिंसा नियन्त्रणका लागि नगरपालिकाले सहकारी अभियान सुरु गरेको छ । १२ वटै वडामा महिला सहकारी छन् । आर्थिक उन्नतिसँगै हिंसा न्यूनीकरणमा सहकारीले काम थालेका छन् । त्यसको नेतृत्व मैले नै गरिरहेकी छु । लैंगिकमैत्री नगर बनाउने घोषणाअनुरूप चालु आर्थिक वर्षमा त्यसका सूचक निर्माण गर्ने योजना बनाएकी छु । सिद्धिचरणलाई लैंगिकमैत्री नमुना नगर बनाउने लक्ष्य छ ।


न्याय सम्पादनको काम पनि मैले नै हेर्नुपर्छ । न्यायिक समितिमा बसेर थुप्रैका परिवार मिलाएकी छु । साँध–सिमानाका मुद्दा मिलाएकी छु । कसैको परिवार मिलाउन पाउँदा निकै खुशी लाग्छ । 


वर्षमा एक पटक ज्येष्ठ नागरिक, महिला, फरक क्षमता भएका व्यक्तिसँग विभिन्न कार्यक्रम गरी अन्तरक्रिया गर्छु । त्यस्ता भेटघाटमा आउने गुनासा सम्बोधन गर्न काउन्सिलिङ गर्ने गर्छु । उपचार नपाएकालाई उपचार गराउने परिचयपत्र दिनेलगायत काम महिला तथा बालबालिका शाखासँगको सहकार्यमा गर्छु । संरक्षणविहीनको दिगो व्यवस्थापनका लागि योजना बनाउने सोच छ । 


काम गर्दा थुप्रै समस्या र अवरोध आउने गर्छन् । त्यस्ता समस्याले कहिलेकाहीँ निकै तनाव दिने गर्छन् । तर, हतोत्साहित हुन्नँ । बुझ्नेहरूसँग सल्लाह गरेर अघि बढ्छु । 


टिम वर्कबिना कुनै पनि कार्य सफल हुँदैन । नगरपालिकाले बनाएका हरेक योजनाको सफलताका लागि हाम्रो टिम लागिपरेको छ । सबैको साथ र सहयोगले काम गर्ने हौसला दिएको छ । आफ्नो कामबाट सन्तुष्ट छु । नौला अनुभव बटुल्दै छु ।