close

दसैंमा पनि शुक्लाफाँटाका कर्मचारीले पाएनन् तलब

दसैंमा पनि शुक्लाफाँटाका कर्मचारीले पाएनन् तलब

Trulli
ADVERTISEMENT

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाका सवारी चालक चरन चौधरी निकै निराश छन् । दसैँका लागि तलब थाप्न नपाइने भएपछि उनी निराश भएका हुन् ।  ‘तलब पाएपछि परिवारकाका लागि नयाँ कपडा खरिद गरी रमाइलोसँग दसैं  मनाउने योजना थियो’ उनले भने, ‘तलबनै नपाइने भएपछि रमाइलोसँग दसैं मनाउने सपना सपनामै सीमित रहन पुगेको छ । निकै न्यास्रो लागेको छ ।’ नगरपालिकामा कार्यरत ८३ स्थायी, १४२ करार र एकजना अस्थायी गरी २२६ कर्मचारीले तलब थाप्न पाएका छैनन् । आधारभूत तह, माध्यमिक तहका गरी ३०० , निजी स्रोतका ८४  शिक्षक, लेखापाल, १३ र बालविकास ६५ गरी ४६२ विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् ।  

 

वडाको बजेट बाडँफाँट र योजनाको टङ्गो लाग्न नसक्दा कर्मचारीले तलब नपाएका हुन । ‘वडा कार्यालयले योजना दिन ढिलाइ गरे’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसन सिंह थापाले भने, ‘खाता सञ्चालनमा ल्याउन सकेनौं । त्यसै कारणले कर्मचारीलाई दसैँमा तलब दिन सकिएन ।’


 
तलब निकासाका लागि प्रयास गर्दागर्दै पनि उपलब्ध गराउन नसकिएको उनले जानकारी दिए । नगर परिषद्मा गत असार ९ गते पेश भएको बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच चर्काचर्की भएपछि अवरोध भएको थियो । लामो समयसम्म बजेट बाँडफाँट हुन नसकेपछि अन्यौलताको अवस्था सिर्जना भएको थियो ।

 

 विवादकैबीच बजेट बाँडफाँट गरिए वडाबाट योजनानै समयमै उपलब्ध नगराइएपछि कर्मचारीले दसैंका बेला तलबनै पाएनन् । नगरपालिका कर्मचारीका अनुसार बजेटको रातो किताब अहिलेसम्म पनि प्रकाशित भएको छैन । रातो किताब कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) मा पेश भएपछि मात्रै बजेट निकासा गरिने कानूनी प्रावधान रहेको छ ।

 

 तलब नपाइएपछि अधिकांश नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकले आफन्तबाट सापटी र कर्जा लिएर दसैंको खर्च चलाउने योजना बनाएका छन् । ‘दसैंमा तलब पाएनौँं नगरपालिकाका कर्मचारी गोकुल जोशीले भने, ‘आफन्तबाट सापटी माग्ने योजनामा छौंँ । पाउने नपाउने निधो छैन । खर्च नभएपछि अरुको मुख ताक्नुपर्ने अवस्था आएको छ ।’


 
आव २०७८/७९ को पहिलो त्रैमासिक तलब भत्ता चाँडो भन्दा चाँडो निकासाका लागि नगरपालिका समक्ष ध्यानाकर्षण पत्र बुझाउँदासमेत पाउन नसकिएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका नगर कमिटी अध्यक्ष लोकेन्द्र कुँवरले जानकारी दिए ।


 
‘केही दिनअघिनै शिक्षक कर्मचारीको मासिक तलब निकासाका लागि माग गरेपनि पाउन सकेका छैनौँं’ उनले भने, ‘खर्च बिनानै वर्षमा एक पटक आउने दसैं  मनाउनुपर्ने भएको छ ।’