close

भेडा–च्यांग्रा बेच्न जहाज चढेरै पोखरा पुगे जुम्लाका व्यापारी 

भेडा–च्यांग्रा बेच्न जहाज चढेरै पोखरा पुगे जुम्लाका व्यापारी 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका ३२ वर्षीय गोर्ख बुढा भेडा–च्यांग्रा बेच्न पोखरा पुगेका छन् । उनी हवाई जहाज चढेर पोखरा झरेका हुन् । 
शिक्षकसमेत रहेका बुढाको समूहमा ८ जना छन् । उनी आउनुअघि नै समूहका अन्य सदस्यले च्यांग्रा पोखरा ल्याइसकेका थिए । 

 

स्कुल बिदा नभएका कारण ढिला गरी आउनुपरेको बुढाले बताए । ‘स्कुल बिदा नहुँदा पढाउनुपर्छ । व्यापार गरेर हिँड्न मिल्दैन,’ बुढाले भने, ‘दसैँ बिदा भएपछि मात्र च्यांग्रा बेच्न पोखरा आएको हुँ ।’

 

बुढाबाहेक अरू साथी र आफन्तले नै च्यांग्रा खोजेर पोखरा ल्याउँछन् । उनीहरूको समूहले बझाङका विभिन्न ठाउँबाट ३५० वटा च्यांग्रा पोखरा उतारेका छन् ।
गाउँ–गाउँ पुगेर च्यांग्रा संकलन गर्न अहिले बिक्री गर्नुभन्दा बढी दुःख हुने गरेको बुढाको भनाइ छ । 

 

‘साथीहरू च्यांग्रा खोज्न जाँदा घर छाडेको २ महिना भइसक्यो । हामीले किन्दा सानो–ठूलो हुँदैन । होलसेलमा किन्नुपर्छ,’ उनले भने, ‘गाउँमा च्यांग्रा किन्दा नै प्रतिस्पर्धा हुन्छ ।’

 

बझाङको चैनपुरबाट मात्र च्यांग्रालाई गाडी चढाएको बुढाले बताए । दिनरात गरी चैनपुरबाट ४ दिनमा च्यांग्रा पोखरा ल्याइएको थियो । गाडीमा ल्याउँदा एउटा गाडीको मात्र डेढ लाख रुपैयाँ बढी भाडा तिर्नुपरेको उनले जानकारी दिए ।

 

बुढाको समूहले मात्र च्यांग्रा ल्याउन ३ वटा गाडी रिजर्भ गरेको थियो । पोखरा ल्याइएको च्यांग्रा २० हजारदेखि ५५ हजार रुपैयाँसम्मका छन् । 

 

हुम्ला, मुगु र डोल्पा नाकाबाट तिब्बती च्यांग्रा पोखरा ल्याएर बेचेको उनलाई अनुभव छ । यसका अलावा मुस्ताङको कोराला नाकाबाट समेत च्यांग्रा भित्रिन्थ्यो । कोरोना महामारीले बन्द तिब्बत नाका अझै खुल्न सकेको छैन । व्यापारीले तिब्बती च्यांग्रा ल्याउन सकेनन् ।