close

दसैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

दसैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती

Trulli
ADVERTISEMENT

काठमाडौँ– आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विनशुक्ल सप्तमीमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । 

 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याइन्छ ।

 

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ वटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथपूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।

 

‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, उनले भने । 

 

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नवदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद् प्रा.डा. गौतमले जानकारी दिए । 

 

हनुमानढोकामा भित्र्याइयो फूलपाती

 

हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ । 

 

यो वर्ष कोरोना महामारीका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

 

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र गरेर पूरा गरिएको छ । 

 

यो वर्ष शार्दूलजंग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह र  मंगल धुन गाउने मंगलिनी समूहको सहभागिता रहेको उनले बताए । हनुमानढोका दरबार नासल चोकमा पूजा र  मूलचोकमा बलिसहितपूजा गरेपछि दसैँघरमा फूलपाती भित्र्याइएको हो । 

 

राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

 

राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी  छिन् । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन् समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो ।

 

त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो । कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिदै आएको छ ।