close

नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलायौँ 

नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलायौँ 

Trulli
ADVERTISEMENT

भूपराज अधिकारी
नगरप्रमुख, गल्याङ नगरपालिका, स्याङ्जा


स्याङ्जाको गल्याङ नगरपालिकामा भूपराज अधिकारी नगरप्रमुख निर्वाचित भएपछि नगरको मुहार फेरिएको छ । उनले स्थानीय सरकार भएको प्रत्याभूति नगरबासीलाई दिलाएका छन् । पूर्वाधारको क्षेत्रमा सडक फराकिलो बनेको, हरेक घरमा बाटोको सुविधा पुर्याएको अधिकारी बताउँछन् । संघ र प्रदेशको सहकार्यमा एक घर एक धारा अभियानमार्फत सबैतिर खानेपानी पहुँच पुगेको छ ।

 

मुख्यगरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । किसानलाई आत्मनिर्भर बनाउन बिउ तथा उन्नत जातका बाख्रा अनुदान दिएका छौँ । अहिले नगरपालिकाले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिइरहेको छ । यसबाट करिब १२ सय परिवारले प्रत्यक्ष लाभ लिइरहेका छन् । यो आर्थिक वर्षसम्म नगरमा १० हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको नगरप्रमुख अधिकारी बताउँछन् ।

 

‘हामीले यस वर्षबाट दूध उत्पादनलाई बढाउने लक्ष्यका साथ दूधमा अनुदान दिएका छौँ,’ उनले भने, ‘किसानको दूध बिक्रीको ग्यारेन्टी हामीले लिन्छौँ । अब बिक्री हुन्न भनेर डराउनुपर्दैन ।’ यस्तै, नगदे बाली आलु, सुन्तला, मसला, अदुवालगायत उत्पादनलाई पनि नगरपालिकाले जोड दिएको छ । 


शिक्षा क्षेत्र सुधारका लागि पनि नगरपालिकाले अहिले सबै विद्यालयमा इन्टरनेटको पहुँच बढाएको छ । तीन वटा विद्यालयलाई नमुना विद्यालय बनाइसकेका छौँ । स्वास्थ्य क्षेत्र सहज बनाउन नगरपालिकाले २५ बेड क्षमताको आफ्नै नगर अस्पताल सञ्चालन गरेको छ । अस्पतालमा डाक्टर, नर्सको जनशक्ति पनि पु¥याइएको छ । नगरपालिकाको प्रशासनिक भवन निर्माण भइसकेको छ ।

 

अत्याधुनिक बसपार्क निर्माण भइरहेको छ । नगरप्रमुख अधिकारीले कोभिड नियन्त्रणमा पनि सक्रिय भूमिका वहन गरेका थिए । उनका अनुसार नगरपालिकामा बाहिरबाट आउने मानिसका लागि ५ सय बेडको क्वारेन्टाइन र संक्रमितलाई राख्न ५० बेडको आइसोलेसन बनाइएको थियो । नगरपालिकाले परीक्षण, कन्ट्याक्ट ट्रेसिङ लगायतका काम आफंैले गरेको थियो ।

 

 

पहिलो लहरमा प्रदेशको ५ लाख रुपैयाँबाहेक नगरपालिकालाई अन्य सहयोग नभएको नगरप्रमुख अधिकारीले बताए । दोस्रो लहरमा पनि आफ्नै नगर अस्पताल भएकाले त्यहीबाटै संक्रमितलाई सेवा दिएर उपचार गराएको उनी बताउँछन् । ‘हाम्रो नगर अस्पतालमा एमबीबीएस र एमडीसहितका सेवा दिएको छौँ,’ उनले भने, ‘कोभिड महामारीमा हाम्रो अस्पताललाई प्रयोग ग¥यौँ । सुरुमा अक्सिजन अभावले केही समस्या भए पनि व्यवस्थापन ग¥यौँ ।’ यस वर्षको बजेटमा नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।

 

स्थास्थ्यबाहेक कृषि, शिक्षा प्राथमिकतामा छन् । दलित, विपन्न वर्गलाई स्वरोजगार बनाउने कार्यक्रम पनि राखिएको छ । फुल र मासुमा आत्मनिर्भर बनाउन अनुदान राखिएको छ । अर्गानिक कालिज उत्पादनका लागि कालिज फार्म सुरु गरिएको छ । 

 

यो अवधिमा बजेटलगायत समस्याले नागरिकसमक्ष गरिएका कतिपय वाचा पूरा नभएको उनी सुनाउँछन् । ‘हामीले सीमित स्रोत–साधनका कारण कतिपय वाचा पूरा गर्न सकेनौँ,’ उनले भने, ‘तर, पहिलो स्थानीय सरकार भएकाले मुख्यतः थिति बसाएका छौँ ।’ सामुदायिक वनलाई व्यवस्थापन गर्न संघ र प्रदेशका ऐन निर्माण नभएकाले समस्या भएको उनको भनाइ छ । खनिज अन्वेषण गरेर प्राकृतिक संरक्षण गर्दै स्रोत प्रयोग गर्न नसकेको उनले बताए । ‘खनिजको काम गर्न सकिएन,’ उनले भने, ‘कोभिडले पर्यटनलगायत क्षेत्रमा पनि बाधा पु¥यायो ।’