close

नेवार समुदायमा कुछी भ्वयको रमझम

नेवार समुदायमा कुछी भ्वयको रमझम

Trulli
ADVERTISEMENT

भक्तपुर– कुछी भ्वय अर्थात् दुई मानाको भोज । नेवार समुदायले बडादसैँको महाअष्टमीको दिन अर्थात् आज बेलुका कुछी भ्वय खाएर मनाउने गर्छन् । कुछी भ्वय अर्थात् दुई मानाको भोज । जसमा कुछीको अर्थ दुई माना र भ्वयको अर्थ भोज हो । 

 

कुछी भ्वय खान तरकारीका परिकार मात्रै १२ थरीको चाहिन्छ । छोयला पनि १२ टुक्रा गरिन्छ । केराको पातमा दुई मानाचिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ति), बारा, अन्डा, माछा, फर्सी, ख्यपीच्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौला, भटमासलगायत परिकार राखेर कुछी भ्वय खाने चलन छ ।

 

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन छ ।

 

दुई माना चिउरा राखेर खाने भएकाले यो भोजको नाम कुछी भ्वय रहन गएको भक्तपुरका बूढापाका बताउँछन् । तर, संस्कृतविद् ओम धौभडेल कुलका सबै एक ठाउँ भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय रहेकामा पछि अपभ्रंश भएर कुछी भ्वय हुन गएको बताउँछन् ।

 

केराको पात शुद्ध हुनुका साथै वैज्ञानिक रूपमा स्वास्थ्यका लागि उपयुक्त भएकाले केराको पात भ्वयमा प्रयोग हुने गरेको उनले बताए । त्यसैले आज भक्तपुरका चोकचोकमा केराको पातको व्यापार पनि हुने गर्छ ।

 

महाअष्टमीको दिन बिहान नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याउने परम्परा छ । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रूपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार बुधबार दसैँको मासु भित्र्याइएको हो । 

 

मासु भित्र्याउँदा घरको मूल ढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने चलन छ ।