close

पर्यटकीय गन्तव्य बन्दै अर्जुन डहर पार्क

पर्यटकीय गन्तव्य बन्दै अर्जुन डहर पार्क

Trulli
ADVERTISEMENT

उदयपुर–पूर्व–पश्चिम मदन भण्डारी लोकमार्गबाट नजिकै रहेको र चारैतिर जंगलले घेरिएको, बीचमा ठूलो पोखरी अर्जुन डहर पार्क पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बनेको छ ।

 

लोकमार्गदेखि दुई किलोमिटर पश्चिम उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अधेँरीस्थित विश्व कञ्चन सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने पार्कमा पर्यटक आकर्षित गर्ने संरचना निर्माणसँगै आन्तरिक पर्यटकीय गन्तव्य बनेको हो । 

 

डिभिजन वन कार्यालय त्रिवेणी कटारी र सामुदायिक वन समूहको संयुक्त लगानीमा निर्मित पार्कमा पर्यटक लोभ्याउने बोटिङ, स्थानीय स्रोत प्रयोग गर्दै बनाइएको टिकटिक घर, काठको भ्युटावरजस्ता पूर्वाधार तयार भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको छ । अन्य ठाउँमा भन्दा फरक स्थानीय स्रोत सामग्री उपभोग गर्ने गरी सखुवाको रुखमा टिकटक घर बनाइएको छ । 

 

सामुदायिक वन समूहको २२ लाख ७० हजार र वन कार्यालयको १० लाख ६ हजारको संयुक्त लगानीमा उद्यानसहितको टिकटक घर र अन्य संरचना तयार गरिएको सामुदायिक वन समूहका अध्यक्ष भीमबहादुर बस्नेतले बताए । पर्यटक बढेसँगै भौतिक संरचना बढाउँदै लैजान लक्ष्य रहेको उनको भनाइ छ ।

 

समूहका सचिव केशवबहादुर अधिकारीले जिल्लाकै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी आन्तरिक र वन कार्यालयको लगानीमा पार्क बनाइएको जानकारी दिए ।

 

उनले भने, ‘अधेँरीमा रहेको अर्जुन डहर पार्कलाई नमुना पर्यटकीय क्षेत्र बनाउन लागिपरेका छौँ । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको अपेक्षा गरेका छौँ ।’

 

हरियाली जंगलले घेरिएको स्थलमा पार्क पहाडको तल्लो भागमा छ । चारैतिरबाट बगेको पानी पोखरीमा जम्मा हुने गरेका कारण बाह्रै महिना पानी रहने गरेको स्थानीय होम बस्नेत बताउँछन् । पर्यटकलाई व्यवस्थित गर्न विभिन्न आवासीय टहरासमेत निर्माण गरिएको छ ।

 

झट्ट हेर्दा फेवाताल जस्तै देखिने पोखरीमा बोटिङसँगै माछासमेत हेर्न पाइन्छ । दाँयाबाँयाका भागमा फूल रोपेर रमणीय बनाइएको छ । पार्क नजिक अधेँरी झर्ना छ । 

 

झन्डै चार किलोमिटर पर मदन भण्डारी लोकमार्गसँगै जोडिएको झर्नाले पर्यटकलाई थप आकर्षित गर्ने गरेको बस्नेतले बताए । झर्ना हेर्न र नुहाउन मात्रै दैनिक एक हजार आन्तरिक पर्यटक आउने गरेका छन् ।

 

उनले भने, ‘पार्कमा पिकनिक खान आउनेहरू झर्नामा जाने, नुहाएर रमाइलो गरी फर्कने गर्छन् । झर्ना हेर्नकै लागि उदयपुरबाहेक सिराहा, सप्तरी र सिन्धुलीबाट सर्वसाधारण आउने गरेका छन् ।’ 

 

लोकमार्गको यात्रा गर्नेहरूसमेत झर्नामा एकछिन रोकेर फोटो खिचेर जाने गरेका छन् । दुवै ठाउँ उदयपुरको नयाँ पर्यटकीय केन्द्रको रूपमा विकास हुँदै गएको छ ।