close

हुवासिन सिमेन्टलाई विद्युत् दिने स्विचिङ स्टेसन सञ्चालनमा 

हुवासिन सिमेन्टलाई विद्युत् दिने स्विचिङ स्टेसन सञ्चालनमा 

Trulli
ADVERTISEMENT

काठमाडौं– धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ मा निर्माण गरिएको स्विचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको हो । 

 

तनहुँस्थित तल्लो मस्र्याङ्दी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्विचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइनेछ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिनेछ ।

 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दसैँका बेला विद्युत् माग कम हुने मौका पारेर स्विचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए ।

 

‘अन्य समय मस्र्याङ्दी–स्युचाटार १३२ केभी ट्रंक लाइन बन्द गर्ने सक्ने अवस्था नै थिएन, त्यसैले दसैँका बेला मिलाएर चार्ज गर्न दियौँ र टीकाको दिन स्विचिङ स्टेसन चार्ज भयो,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत् जडान गर्न सक्नेछ ।’

 

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो । कम्पनीले स्विचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२÷१० केभीको सबस्टेसन निर्माण गरेको छ ।

 

प्राधिकरणले स्विचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो । कार्यकारी निर्देशक घिसिङका अनुसार स्विचिङ स्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिनेछन् ।

 

‘स्विचिङ स्टेसन निर्माणपछि गल्छी, नौबीसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको छ । साथै, त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरिनेछ’, उनले भने, ‘यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिसमेत विश्वसनीय हुनेछ ।’