close

संघले स्थानीय सरकारको दायित्व मात्रै बढायो, बजेट बढाएन 

‘तर पनि ...१ सय किलोमिटर सडक कालोपत्रे भइसकेको छ’

संघले स्थानीय सरकारको दायित्व मात्रै बढायो, बजेट बढाएन 

‘तर पनि ...१ सय किलोमिटर सडक कालोपत्रे भइसकेको छ’

Trulli
ADVERTISEMENT

 धीरज शर्मा बत्स्याल 
नगरप्रमुख, बर्दघाट नगरपालिका, नवलपरासी पश्चिम

 

बर्दघाट नगरपालिका प्रमुख धीरज शर्मा बत्स्याल संघीय सरकारले ल्याएको बजेट असन्तुलित रहेको सुनाउँछन् । बजेटमा स्थानीय सरकारको दायित्व बढाइदिने तर बजेट नदिने प्रवृत्ति संघले देखाएको छ । ‘संघले ल्याएको बजेटले स्थानीय सरकारलाई दायित्व बढाउने काम मात्रै गरेको छ,’ उनले भने, ‘बजेट पठाएको छैन । संघले ल्याएको बजेट चित्त बुझाउने खालको छैन ।’ 

 

शिक्षकको तलब बढाएर स्थानीय सरकारले भार बोक्ने कुरा एकदमै नाजायज हो । यसबाहेक संघले अनुदानमा पठाएको रकम पनि खासै चित्तबुझ्दो छैन । 

 

यसका बाबजुद चार वर्षको अवधिमा बर्दघाटमा जनताले महसुस गर्ने धेरै काम सम्पन्न भइसकेका छन् । नगरमा १ सय किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सडकका वैकल्पिक मार्ग खोल्ने र स्तरीकरण गर्ने काम भएका छन् । स्वास्थ्य क्षेत्रमा हरेक वडामा स्वास्थ्य चौकी स्थापना भइसकेका छन् । नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगर घोषणा गरिएको छ । अहिले बर्दघाटका हरेक वडामा स्वास्थ्य केन्द्रमा मात्रै सुत्केरी गराइन्छ । 

 

यस्तै, कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले परम्परागत खेती प्रणलीबाट आधुनिक खेती प्रणालीमा लैजान विशेष पहल गरेका छौँ । ‘हामीले कृषिलाई आधुनिक प्रणालीमा लैजान विभिन्न काम गरेका छौँ,’ उनले भने, ‘मुख्य खाद्यान्न बालीको बिउमा ५० प्रतिशत र लहरे बालीमा शतप्रतिशत अनुदान दिने व्यवस्था मिलाएका छौँ ।’ 

 

नगरपालिकाले कृषि क्षेत्रका लागि लिएका नीतिकै कारण कृषि पेसाबाट बाहिरिने क्रम रोकिएको छ । कानुनका क्षेत्रमा नगरपालिकाले ५० वटा कानुन निर्माण गरिसकेको छ ।

 

नगरपालिकाले चार वर्षमा गरेको अर्को उपलब्धि भनेको बर्दघाट दूध र अण्डामा आत्मनिर्भर भएको छ । नगरले अहिले मासुमा आत्मनिर्भर हुन र उत्पादन बढाउन खोजिरहेको छ । नगरपालिका क्षेत्रभित्र मानव निर्मित तीन वटा पोखरी निर्माण भइसकेका छन् । कोभिडका कारण धेरै काममा बाधा भयो । ‘हामीलाई कोभिडले काममा धेरै बाधा पुर्‍यायो,’ उनले भने, ‘कोभिड नियन्त्रणका लागि धेरै समय र स्रोत खर्चिनुपर्‍यो ।’ 

 

कोभिड नियन्त्रण गर्न नगरपालिकाले पहिलो लहरमा जनचेतना फैलाउने, सूचना प्रसारण गरेको थियो । सीमाबाट आउने मानिसका लागि १८ वटा विद्यालयमा क्वारेन्टाइन निर्माण गरियो । संक्रमितको उपचारका लागि २० बेडको अस्पताल निर्माण गर्‍यौँ । कोभिड नियन्त्रणमा गरेको खर्चसमेत संघले दिएन । ‘हामीलाई पहिलो लहरमा प्रदेशले १५ लाख दिएको थियो,’ उनले भने, ‘संघले केही गरेन । स्थानीय व्यवसायीलाई आग्रह गरेर विपद् कोष बनाएर काम गर्‍यौँ ।’

 

नगरपालिकाको यो वर्षको बजेटमा मुख्य प्राथमिकता कोरोना नियन्त्रण राखिएको छ । कोभिड असरले कृषक र विपन्नलाई सहयोग पुर्‍याउने हिसाबले भूमिकर मिनाहा गर्ने कार्यक्रम राखेका छौँ । त्यस्तै, नगरबासीलाई विद्युत् महसुलमा २० युनिटसम्म अनुदान र १० युनिट निःशुल्क गरिदिने कार्यक्रम पनि यो वर्षको बजेटले समेटेको छ । यो कार्यकालमा केही काम चाहेर पनि गर्न सकिएन । वैकल्पिक मार्गको स्तरीकरण पूरा हुन सकेन भने ठूल्ठूला योजना कार्यन्वयन गर्न सकिएन । 
नगरप्रमुख भएपछि वाचा गरेका करिब ८० प्रतिशत काम सम्पन्न भइसकेका छन् ।