close

लगातारको वर्षाले धानबालीमा लाखौँको क्षति 

लगातारको वर्षाले धानबालीमा लाखौँको क्षति 

Trulli
ADVERTISEMENT

दाङ– दाङमा आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धानबालीमा लगातारको वर्षाले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् ।

 

घोराही उपमहानगर वडा नम्बर ६ का महेश चौधरीले चार बिघा खेतमा धान लगाएका छन् । ‘आधा खेतको धान काटेर खेतमै छ । अरू काट्न बाँकी छ । पानीले काटेको धान सबै डुबायो’, उनले भने, ‘वर्षभरि खाने अन्न स्याहार्ने बेला विजोग भयो । भकारीभरि धान राख्ने बेला पानीले नोक्सानी गरेपछि किसानको उब्जनीमा ठूलो नोक्सान भएको छ ।’

 

यस पटक जिल्लाका किसानले समयमै मल, बिउ र पानी प्रशस्त भएका कारण असार दोस्रो साता नै धान रोपिइसकेका थिए । पाकेको बाली भित्र्याउने समय पानीले धानमा नोक्सान गरेको हो । 

 

‘धानमा दाना पनि राम्रो लागेको थियो । आइतबार बिहानभर घाममा धान काटियो । दिउँसोदेखि पानी परेको परै छ’, तुलसीपुर वडा नम्बर १७ की विनिता चौधरीले भनिन्, ‘काटेको धानमा पानी डुब्यो भने दुई/तीन दिनमा टुसा उम्रिन्छ र खान नमिल्ने हुन्छ । अन्य आम्दानीको स्रोत छैन । धान खेतीले गुजारा चलेको थियो । पानीले सबै चौपट गरायो ।’ 

 

लगातारको वर्षाले देउखुरी, घोराही र तुलसीपुर क्षेत्रका खेतमा पाकेको धानमा क्षति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानले पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था छ ।

 

लगातारको वर्षाका कारण दाङका खोलानदीमा पानीको बहाव बढेको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पत्रेखोलामा आएको बाढीका कारण साना सवारीसाधन आउजाउमा समस्या भएको दाङ प्रहरीले जनाएको छ ।

 

ठूला सवारीसाधन आउजाउ गरे पनि मोटरसाइकल, अटो, टेम्पो खोलामा आएको बाढीका कारण रोकिएका छन् । वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।
पातु खोला, ग्वार खोला, बबई नदीलगायत खोलामा पानीको बहाव बढेको छ ।

 

घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पत्रे खोलामा आएको बाढीका कारण साना सवारीसाधन आवागमनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।