close

जुम्लामा लगातारको झरीले धानबालीमा नोक्सान

जुम्लामा लगातारको झरीले धानबालीमा नोक्सान

Trulli
ADVERTISEMENT

जुम्ला– धान भित्र्याउने समय लगातार पानी परेपछि खेतमा काटेको धान भिजेर नष्ट भएको छ । आइतबार बेलुकादेखि निरन्तर परिरहेको पानीले धानबालीमा क्षति पुगेको हो । 


खेतमा काटेर सुकाउन राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मर्कामा परेका छन् । खेती भित्र्याउने बेला पानी परेपछि वर्ष दिनको लगानी खेर गएको किसानको गुनासो छ । 


वर्षाका कारण जुम्लाका सयौँ किसानको हजारौँ रोपनी जमिनको धानखेती भिजेको छ । धानसँगै अन्य अन्नबालीसमेत नष्ट गरेपछि किसान थप चिन्तित छन् । 
चन्दननाथ नगरपालिका वडा नम्बर ९ श्रीदुस्का गाउँका लक्ष्मी हमालका अनुसार दसैँलगत्तै धानखेती भित्र्याउन थालिएको हो । काटेर खेतमा राखिएको धान पानीले नष्ट गरेको छ । ‘गत वर्ष यस्तो भएको थिएन । यो वर्ष धानबालीमा क्षति भयो’, उनले भने, ‘आधा चुटेको धान खेतीमै पाल, प्लास्टिकले छोपिएका छन् ।’ 


कृषि प्राविधिक लछिराम महतका अनुसार वर्षाले काटेको धानमा क्षति पुगेको छ । काटेको धानबाली घाम नलाग्दासम्म खेतमै राख्नुपर्छ । घाम लागेपछि दुई–तीन दिन सुकाएर मात्र घर भित्र्याउने गर्थे ।  उनले भने, ‘वर्षाले नकाटेको धानलाई नोक्सानी गर्दैन । काटेकोलाई गर्छ । चिस्यान बढी हुन्छ । सोही कारण घुनकिरा लाग्छ ।’


पानी परेपछि धान खेतमै झर्ने उनले बताए । यो वर्ष धानबाली पानी परेपछि कुहिने डर छ’, उनले भने, ‘किसानलाई नआत्तिएर धान भित्र्याउन आग्रह गरेका छौँ । वर्षा रोकिनेबित्तिकै लगातार सुकाएर मात्र भित्र्याउन भनिएको छ ।’ जुम्लामा २९ सय हेक्टरमा धान खेती हुने गरेको छ । यसमध्ये १४ सय हेक्टरमा मार्सी धान रोपिएको छ । 

 

गत वर्ष ६ हजार मेट्रिक टन धान उत्पादन


जुम्लामा गत वर्ष करिब १२ हजार ३ सय ८ मेट्रिक टन मात्रै रैथाने बाली उत्पादन भएको छ । तर, यो वर्ष उत्पादन घट्ने अनुमान गरिएको छ ।  करिब ५ वर्षयता जुम्ली रैथाने बाली उत्पादनमा ४० प्रतिशतले गिरावट आएको सरकारी अनुमान छ ।

 

मार्सी धान उत्पादनमा भने केही वृद्धि भएको छ । १२ हजार मेट्रिक टन अन्नबाली उत्पादन हुँदा मार्सी धान मात्रै ६ हजार ६ सय ७० मेट्रिक टन उत्पादन भएको छ । 


धानको उत्पादकत्व बढाउन यहाँका ८ वटै स्थानीय तहले कृषि केन्द्रित नीति तथा बजेट व्यवस्थापन गर्न आवश्यक रहेको कृषिविज्ञहरू बताउँछन् । गत वर्ष काली मार्सी धान ६ हजार ६ सय ७० मेट्रिक टन उत्पादन भएको छ भने गहुँ ५ हजार २ सय ९० मेट्रिक टन, ६ हजार ५ सय ६० मेट्रिक टन वर्षे मकै, कोदो ४ हजार २ सय ९० मेट्रिक टन उत्पादन भएको छ । 

 

यस्तै, जौ ७ हजार ६ सय ५० मेट्रिक टन, फापर ९८ मेट्रिक टन, उवा १५ मेट्रिक टन, चिनो २ सय ४० मेट्रिक टन र कागुनो १४ मेट्रिक टन गरी जम्मा १२ हजार ३ सय ८ मेट्रिक टन रैथाने खाद्यबाली उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।