close

बगर पन्छाएरै घर पस्ने तयारीमा तालगाउँबासी 

बगर पन्छाएरै घर पस्ने तयारीमा तालगाउँबासी 

Trulli
ADVERTISEMENT

मनाङ– गत असार १ मा आएको मस्र्याङ्दी नदीको बाढीले बगरमा परिणत भएको नासों गाउँपालिका–१ तालगाउँ पुरानै लयमा फर्किने अवस्थामा छ । अहिले नदीको वहाब घटेसँगै तालबासी त्यही बगर पन्छाएर बाँकी रहेको संरचनामा बस्न थालेका छन् ।  बाढीपहिरोका कारण डुबानमा परेको तालगाउँ बस्ती पुनः घर फर्किने तरखरमा पुगेको हो । 


असार १ पछि मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ पूरै डुबानमा परेको थियो । तालगाउँबासी पूर्ण रूपमा विस्थापित भएर डाँडामा त्रिपालमुनि बस्दै आएका थिए । यतिखेर भने उनीहरू अब बाढी नआउने भन्दै घर बसाउने तयारीसहित बगर पन्छाउन व्यस्त छन् ।  


उनीहरू बाढी पसेको बस्तीको घरमा रहेको गेग्रान फालेर बस्न मिल्ने गरी घरको पुनर्निर्माण गर्दै छन् । बाढीले घर नै बगाएकाबाहेक परिवार त्रिपालमै बस्दै आएका छन् भने घर बाँकी रहेका परिवारले बालुवा, गिटी, ढुंगाले पुरेको घरको गेग्रान पन्छाएर बस्ने तयारी गरिरहेका देखिन्छन् ।  


यो बस्ती अझै जोखिमपूर्ण भए पनि स्थानान्तरणका लागि उपयुक्त ठाउँ नहुँदा सोही स्थानमा बस्नुपर्ने बाध्यता रहेको गाउँबासी बताउँछन् । स्थानीय मीनराशी गुरुङले भने, ‘तीन महिनासम्म त्रिपालमा बसियो । नदी घटेपछि घर हुने घरमा अड्किएको गेग्रान फालेर बस्न थालेका छौं ।’


तीन महिनाभन्दा बढी हुँदासम्म पनि घरबारको अत्तोपत्तो नहुँदा धेरै चिन्तित बनाउने गरेको उनले बताए । अझै घरसमेत बाँकी नरहेका परिवारको बसोबासका लागि कुनै आधारै नभएको उनको भनाइ छ । बस्ती बस्न अहिले घर बाँकी रहेकाले गेग्रान फाल्ने काम पाएको गुरुङले बताए ।


तीन महिनापछि मनाङ सडक सञ्जालसँग जोडिएर आवतजावतमा सहज भएको छ । तर, स्थानीयको दिनचर्या अझै सहज हुन सकेको छैन । अन्यत्र बस्ने व्यवस्था गर्न नसक्दा गाउँबासी पुरानै ठाउँमा बस्न थालेको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।


‘व्यवस्थापनका लागि पहल भइरहेको छ । तत्काल भने कठिन अवस्थामै रहेका छौं । यसले गर्दा ढिला भएको हो । जाडो बढ्दै गएपछि नदीको सतह घट्दै गएकाले पनि बस्तीतर्फ स्थानीय फर्किएका हुन्,’ उनले भने ।  

 

विभिन्न क्षेत्रसँग ताल गाउँबासीको व्यवस्थापनका सम्बन्धमा छलफल भइरहेको उनले बताए । पालिकाले मात्रै व्यवस्थापन गर्न कठिन भएकाले पनि ढिलाइ र समस्या रहेको उनले भनाइ छ ।  उक्त क्षेत्रको बस्तीलाई सुरक्षित र व्यवस्थित राख्न त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्न जरुरी देखिन्छ ।


जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्ण रूपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको हो । नासोंका धेरै भाग डुबान र पहिराको कारण भौतिक संरचना पूर्ण क्षति पुगेको छ ।


तीन महिनादेखि मनाङबासीलाई त्रिपालको बासबाहेक अन्य उपाय पहिचान गर्न सकिएको छैन । यस वर्ष मस्र्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको छ । यस वर्षको मनसुन सुरु हुनासाथ मनाङ प्राकृतिक प्रकोपमा परेको थियो ।