close

पशुपालनको हब बन्दै कास्कीको माछापुच्छ्रे 

पशुपालनको हब बन्दै कास्कीको माछापुच्छ्रे 

Trulli
ADVERTISEMENT

कास्की– संघ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायत कार्यक्रम ल्याएपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका पशुपालनको हब बनेको छ ।


तीन वटै स्थानीय तहले उत्पादनमार्फत आयआर्जनमा कृषकलाई प्रेरित गरेपछि आम्दानीको गतिलो स्रोत फेला परेको हो । माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमुखी कृषि कर्म गर्दै आएका कृषकले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैंसी तथा बाख्रापालन सुरु गरेका छन् । 


गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् । 


गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बिमा निःशुल्क गरिएको छ । संघले बिमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ ।


गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि बढाएर ५० पैसा अनुदान दिन थालेको पालिकाका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए ।  प्रदेश सरकारबाट मोडल फार्म, डेरी सुधारलगायत कार्यक्रममार्फत दुई÷तीन वर्षदेखि निरन्तर सहयोग हुँदै आएपछि कृषकमा उत्साह बढेको छ । 


९ वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध बिक्रीका लागि पोखरा बजारमा जाने गरेको छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध बिक्री गरे पनि ठूला कृषकले आफैं बजार खोज्ने गरेका छन् । 


गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख ८ हजार ५०० लिटर बजारमा बिक्री भएको छ । 


पशु शाखा प्रमुख पौडेलले भने, ‘हाम्रो गाउँपालिका दूधको हब बन्दै गएको छ । लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध बिक्री गर्ने कृषक बढी छन् ।’  पालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ । 


लाहाचोकबाट मात्रै दैनिक ५ हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ । वडा नम्बर ३ को घाचोकबाट दैनिक ३ हजार ५०० लिटर र धितालबाट दैनिक १ हजार लिटर दूध बजारमा बिक्री हुने गरेको छ । रिभान, माछापुच्छ्रे र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्यांक छ । 


त्यस्तै, धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको छ । दूध बिक्री गरेर पालिकामा कृषकले दैनिक ७ लाख ३५ हजार तथा मासिक २ करोड २० लाख रुपैयाँ हाराहारी आम्दानी गरेका छन् । 


सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरन क्षेत्र, नजिकको बजारलगायत कारणबाट पशुपालनका लागि सहज वातावरण बने पनि कृषकले उचित मूल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताउँछन् । उनले भने, ‘गाईभैंसी पाल्न हामीलाई सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । बर्सेनि मूल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।’


लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैंसीफार्म सुरु गरेपछि पालिकामा व्यावसायिक पशुपालन सुरु भएको थियो । गुरुङको फार्ममा अहिले ३०० भैंसी छन् । २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । 


व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । पालिकाले चालू आर्थिक वर्षमा कृषि र पशुतर्फ १ करोड ५ लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन् । उनका अनुसार दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावरटिलर, चापाकटर, बोका र निःशुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नम्बर २ र ९ मा स्थानीय भैंसी संरक्षण कार्यक्रम, एक वटा गाई/भैंसी पकेट क्षेत्रलगायत कार्यक्रम पालिकाको प्राथमिकतामा छन् ।  उनले भनिन्, ‘हाम्रो गाउँपालिका पशुपालनमा समृद्ध बन्दै जिल्लामै दूध उत्पादनमा अग्रणी छ । हाम्रो तर्फबाट समेत कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यावसायिकीकरण, आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोगको नीति लिएका छौँ ।’