close

साढे तीन दर्जन बढी उद्योग स्थापना गर्दै पाँचखाल 

साढे तीन दर्जन बढी उद्योग स्थापना गर्दै पाँचखाल 

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाले लगानी भित्र्याउन महत्त्वाकांक्षी योजना अघि बढाउने तयारी थालेको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउन पहल गर्दागर्दै कोरोना जोखिमले सम्भब नभएपछि हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको हो ।


पाँचखालमा करिब ४० वटा उद्योग स्थापनाको तयारीमा रहेको नगरप्रमुख महेश खरेलले बताए ।  ‘पाँचखाल सुनको कचौरा हो । यहाँ कृषि र अन्य उत्पादनका ४० उद्योग स्थापनाको तयारी थाल्दै छौँ’, उनले भने । उद्योग स्थापनाले स्थानीय स्तरको खाद्यान्नलगायत वस्तुको उत्पादन र उपभोग बढ्नुका साथै करिब ४ हजार स्थानीयले रोजगारी पाउनेछन् । उद्योग स्थापनाका लागि नगरले स्थानीयलाई नै प्राथमिकता दिने योजना छ ।

 

लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना संक्रमणको जोखिमले थाती रहे पनि साझेदारीका लागि वैकल्पिक योजनाको खोजी भइरहेको नगरप्रमुख खरेलले बताए ।  उनका अनुसार उद्योग स्थापनापछि स्थानीयलाई प्राथमिकता दिइन्छ । सरल कर्जाका लागि वित्तीय संस्थासँग समन्वय भइरहेको छ ।
चालू आर्थिक वर्षदेखि एक दर्जन उद्योगबाट उत्पादन गराउने गरी तयारी थालिएको र उद्यमशीलताको विकास एवं प्रवद्र्धनका लागि वित्तीय संस्थासँग सम्झौतालाई प्राथमिकता दिइरहेको बताइएको छ ।


उद्यम गर्न चाहने स्थानीयका लागि नगरको सिफारिसमा सहज रूपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले यसअघि नविल बैंकसँग सम्झौता गरिएको छ ।
सम्झौतामा उद्यम गर्न चाहनेलाई अभिमुखीकरण तालिम दिएर आकर्षण गर्ने उद्देश्य छ । 


बैंकले सरकारको दिगो विकासका लक्ष्यलाई सहयोग गर्न गत असारमा विपन्न वर्ग लक्षित किसान कर्जा र उद्यमशीलताका लागि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । नगरपालिकाले नगरलाई ‘स्मार्ट सिटी’ बनाउन गत भदौमा काठमाडौंस्थित इन्फ्रास्ट्रक्चर बैंकसँग सात वटा सर्त राखेर सम्झौता गरेको थियो । 


 
पूर्वाधारलगायत निजी–साझेदारीको माध्यमबाट नगरलाई स्मार्ट बनाउन सो सम्झौता गरिएको हो । नगरप्रमुख खरेलका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी लगानीको एउटा वैकल्पिक योजना हो । 


आर्थिक वर्ष २०७६/७७ को अन्त्यतिर निर्णय गरी तयारीमा जुटेपछि लगानी सम्मेलनको योजना त्यतिबेला कोरोना संक्रमण उच्च जोखिम बढ्दै गएसँगै योजनामै सीमित भएको थियो । 


गत आर्थिक वर्षमा सम्मेलन गर्ने कार्यतालिका बनाइए पनि पुनः कोरोना संक्रमणको दोस्रो लहरका कारण अघि बढ्न सकेन । यसका लागि गत आर्थिक वर्षमै बजेटसमेत विनियोजन गरिएको थियो । 


यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक २०७६ असोजमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेकामा स्वदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता व्यक्त गरेका थिए । पाँचखाल पनि तिलोत्तमापछि लगानी सम्मेलन गर्ने दोस्रो नगर बनिसक्थ्यो । 
पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालू आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न विगतका दुवै आर्थिक वर्षमा प्रारम्भिक बजेट छुट्याइएको थियो ।


पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विकासका काम सुरु भएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ । विशेषगरी कृषि र पशुपालनमा लगानीकर्तालाई आकर्षण गराउने योजना बनाइएको थियो ।


कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा तथा प्रविधि विस्तार, पर्यटकीय स्तरका ठूला होटल निर्माण र उद्योग स्थापनाका लागि सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको छ । 


पाँचखालमा विभिन्न ऐतिहासिक स्थलसमेत रहेकाले पर्यटन र स्थानीय साँस्कृतिक क्षेत्र लक्षित आयोजनालाई प्राथमिकतामा राखिनेछ । पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) का लागि निर्माण सुरु गरिएको, मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया अघि बढाइएको बृहत् सुनकोसी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने नेसनल युथ इनोभेसन सेन्टरका साथै एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक भएको छ । 


२०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर यसलाई अझ बृहत् बनाइएको छ । १३ वटा वडामा विभाजित नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्गकिलोमिटर छ भने ३७ हजार ७९७ जनसंख्या छ । 

 

‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरपालिकाले पाँचखालको खेतीयोग्य जमीनलाई प्लटिङमा पूर्ण प्रतिबन्ध लगाउनुका साथै खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको छ ।  रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिकग्राम स्थापनाकोे योजना नगरको छ ।