close

गाउँ–गाउँमा प्रविधि विस्तार गर्दै वालिङ

गाउँ–गाउँमा प्रविधि विस्तार गर्दै वालिङ

Trulli
ADVERTISEMENT

स्याङ्जा/वालिङ– स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ–गाउँमा प्रविधि विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोहीअन्तर्गत नागरिकमाझ प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्यअनुसार काम भइरहेको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । प्रमुख खाँणले भने, ‘स्मार्ट सिटी निर्माणका लागि नयाँ–नयाँ प्रविधि प्रयोगबाटै सेवा प्रवाह गर्ने योजनाअनुसार काम भइरहेको छ ।’

 

नगरपालिकाका १४ वडामध्ये पहिलो चरणमा नगरपालिका कार्यालय, वडा कार्यालय र नगरका १७ वटा स्वास्थ्य संस्थामा फाइबर इन्टरनेट विस्तार गरिसकेको प्रमुख खाँणले बताए ।

 

दोस्रो चरणमा नगरका सम्पूर्ण विद्यालय, सरकारी संघ–संस्था तथा कार्यालय र तेस्रो चरणमा १४ वटै वडाका ३१० वटा गाउँ–गाउँमा इन्टरनेटको सहज पहुँच पुर्‍याउने गरी काम भइरहेको छ ।

 

‘वडा कार्यालय, सरकारी कार्यालय, स्वास्थ्य संघ–संस्था, विद्यालयमा फाइबर इन्टरनेट जडान गरेर प्रविधिमैत्री सेवा उपलब्ध गराउने कार्य भइरहेको छ’, नगरप्रमुख खाँणले भने, ‘प्रविधिको प्रयोगमार्फत कार्यालयले सेवा उपलब्ध गराउने र सेवाग्राहीले विभिन्न एप्स तथा डिजिटल माध्यमबाट सेवाशुल्क भुक्तानी गर्ने सफ्टवेयर विकास गरेका छौँ । यसले सेवाग्राहीलाई सेवा लिन कार्यालयमा आइरहनुपर्ने झन्झट पनि हुँदैन ।’

 

नगरका १४ वटै वडामा नेपाल टेलिकमको ‘फाइबर लिज लाइन कनेक्टिभिटी’ जडान गरिसकिएको छ भने वल्र्डलिंक कम्पनीको लाइन पनि जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जिनियर प्रकाश अर्यालले बताए ।

 

‘नगरभित्रका १७ वटा मावि तहका सामुदायिक विद्यालय, १७ वटा स्वास्थ्य संस्था र सरकारी संघ–संस्था तथा कार्यालयमा वल्र्डलिंकको फाइबर इन्टरनेट जडान सम्पन्न भइसकेको छ’, अर्यालले भने, ‘अब ५६ वटा सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट विस्तारका लागि काम भइरहेकाले तिहारलगत्तै सकिन्छ ।’

 

वल्र्डलिंकले सबै कार्यालय तथा विद्यालयमा १० एमबिपिएस क्षमताको इन्टरनेट दुई वर्षसम्म निःशुल्क उपलब्ध गराउने सम्झौता भएको इञ्जिनियर अर्यालले जानकारी दिए ।

 

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको नगरपालिकाले कागजी प्रक्रियालाई कम गर्दै विस्तारै ‘पेपरलेस’ पद्धतिमार्फत सेवा लिन नागरिकलाई अभिप्रेरित गर्न खोजेको छ । डिजिटल पद्धतिमार्फत नागरिकलाई सेवा उपलब्ध गराउन जनप्रतिनिधि तथा कर्मचारीलाई ‘विद्युतीय हाजिरी’ का लागि क्रिप्टो टोकनसमेत उपलब्ध गराइसकेको छ । 


वालिङका नागरिकलाई कार्यालयमा उपस्थित नभएरै पनि सेवा लिन पाउने र डिजिटल माध्यमबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको छ । नगरपालिकाले प्रदान गर्ने सेवाबारे नागरिकलाई जानकारी गराउनुका साथै टोल–टोलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रम अगाडि सारेको छ ।