close

दाङमा २५ प्रतिशत धानबाली नोक्सान 

दाङमा २५ प्रतिशत धानबाली नोक्सान 

Trulli
ADVERTISEMENT

दाङ– दाङमा आइतबारदेखिको निरन्तर वर्षाका कारण पाकेको धानबालीमा क्षति पुगेको छ । पाकेको धानबाली घर भित्र्याउन नपाउँदै झरीले नोक्सान गरेपछि किसान चिन्तित भएका छन् । वर्षाकै कारण भित्र्याउन तयार भएको धानबालीमा २० देखि २५ प्रतिशत क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । 
काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ ।


‘नकाटेको धानमा पानीले त्यति असर पुग्दैन’, दाङ घोराही उपमहानगर वडा नम्बर २ का किसान रुपलाल चौधरीले भने, ‘काटेको धानमा धेरै क्षति पुगेको छ ।’
अझ निरन्तर वर्षा भइरहे धान कुहिने र काम नलाग्ने उनले सुनाए । ‘अब थप पानी परेर खेतमै डुब्यो भने धान कुहिन्छ, कामै लाग्दैन । त्यसैले काटेर ढालेको धानलाई पानी जमेको ठाँउँबाट बाहिर राख्न थालेका छौँ’, उनले भने । 


थप पानी परेर धान डुबाए धान कुहिने सम्भावना हुने कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी रुद्रमणि पौडेलले जानकारी दिए ।
‘स्थानीय तहसँग क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ’, सूचना अधिकारी पौडेलले भने, ‘अहिले प्रारम्भिक अनुमानमा २० देखि २५ प्रतिशत धानमा क्षति पुगेको देखिएको छ ।’


दाङ देउखुरी क्षेत्रमा छिटो धान पाक्ने भएकाले त्यस क्षेत्रमा अलि बढीे क्षति गरेको अनुमान छ । देउखुरी क्षेत्रमा लगभग ७५ प्रतिशत धान काटिएको र त्यसमध्ये भित्र्याउन बाँकी २५ प्रतिशत जतिमा वर्षाले क्षति पुर्‍याएको छ । ५० प्रतिशत जति किसानले धान भित्र्याइसकेको उनले बताए ।


त्यस्तै, दाङको माथिल्लो भागमा पनि वर्षाले करिब १० देखि १५ प्रतिशतसम्म धानमा क्षति पुर्‍याएको छ । घोराही, तुलसीपुर उपमहानगर बढी क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ ।


वर्षासँगै हावाहुरी चल्दा धान ढलेपछि नकाटेको बालीमा पनि क्षति पुगेको छ । तर, दाङको पश्चिम क्षेत्रमा अलि ढिला धान पाक्ने भएकाले त्यति धेरै क्षति नभएको अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताए ।


धानबालीमा क्षति पुगेपछि स्थानीय तहका जनप्रतिनिधि किसानका खेतमै पुगेका छन् । आइतबार रातीदेखिको वर्षाल सोमबार विहान किसानको खेत जलमग्न भएपछि बिहानै तुसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डेले किसानको खेतमै पुगेर नआत्तिन आग्रह गरे ।


घोराही उपमहानगर प्रमुख नरुलाल चौधरीले पनि अहिले क्षति विवरण संकलन भइरहेको, विवरण संकलन गरेर प्रदेश सरकारसम्म पठाउने र किसानलाई सक्दो राहतको व्यवस्था गरिने जानकारी दिए ।