close

बागमतीमा हुइँकिँदै बिजुली बस : प्रदेश सरकारले बढायो खरिद प्रक्रिया

बागमतीमा हुइँकिँदै बिजुली बस : प्रदेश सरकारले बढायो खरिद प्रक्रिया

Trulli
ADVERTISEMENT

काठमाडौं– बागमती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत प्रदेश सरकारले बोलपत्र आह्वान गर्न लागेको हो ।  


बोर्डले १८ चैत २०७७ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको बोर्डका निर्देशक जगदीश ढुंगानाले जानकारी दिए ।


उनका अनुसार मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नुपरेको थियो ।  
लागत अनुमानभन्दा २९ दशमलव ८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेस गरेका कारण रद्द गर्नुपरेको निर्देशक ढुंगानाको भनाइ छ । यसका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ ।


पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उनले बताए ।  हालै मन्त्रालयमा भएको सचिवको हेरफेरले यो काम केही दिन पर सरेकामा अब केही दिनमै बोर्डको बैठक बसेर निर्णय हुने र प्रक्रिया सुरु गरिने निर्देशक ढुंगानाले जानकारी दिए । 


बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेसन निर्माण प्रक्रियासमेत अघि बढाइनुका साथै मन्त्रालय र बोर्डका प्रतिनिधिले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए । बस सञ्चालन हुने मार्गका केही स्थानमा चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु गरिएकोे छ ।


बोर्डले काठमाडौंको गोंगबु बसपार्क, हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार तथा विदुर बसपार्कमा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अघि बढाएको छ ।