close

तानसेनलाई कृषिमा आत्मनिर्भर बनाउँदै छौँ 

तानसेनलाई कृषिमा आत्मनिर्भर बनाउँदै छौँ 

Trulli
ADVERTISEMENT

अशोककुमार शाही 
नगरप्रमुख, तानसेन नगरपालिका, पाल्पा

 

एम्बुलेन्स । धेरैजसोले नाम सुन्दा बिरामी बोक्ने सवारीसाधन ठान्छन् । तर, तानसेन नगरपालिकामा भने फरक छ । यहाँ बिरामी बोक्न होइन, कृषि उत्पादनलाई बजारमा लैजान ‘कृषि एम्बुलेन्स’ सुरु भएको छ । यो अवधारणा कोभिडले नगर बन्द भएका बेला त्यहाँको उत्पादनलाई बजारमा लैजान ल्याइएको नगरप्रमुख अशोककुमार शाही बताउँछन् । ‘कोभिडको संक्रमणका बेला हाम्रो उत्पादन खेर नजाओस् भनेर कृषि एम्बुलेन्स सुरु गरेका हौँ,’ उनले भने, ‘यसलाई हामीले निरन्तरता दिने योजना बनाएका छौँ ।’ 


कोरोना रोकथाम गर्न तानसेन नगरपालिकाले जनचेतना फैलाउने, क्वारेन्टाइन बनाउने, हेल्थ डेस्क राख्ने काम गर्‍यो  । नगरले युनाइटेड मिसन हस्पिटलसँग सहकार्य गरेर संक्रमितलाई स्वास्थ्य सेवा दिने व्यवस्था मिलायौँ । नगरपालिका आफैंले २८ वटा विद्यालयमा ३४ वटा क्वारेन्टाइन बनायो । बाहिरका मानिसलाई नगरपालिकाले आफ्नै खर्चमा घर–घरमा पुर्‍याउने काम गर्‍यो  ।

 

तानसेनमा भारतबाट धेरै कामदार आएकाले व्यवस्थापनमा अलिक मुस्किल भए पनि व्यवस्थापन गर्‍यौँ । नगरप्रमुख शाही भन्छन्, ‘हामीलाई भारतबाट आउने कामदार व्यवस्थापन गर्न चुनौती भयो । तर, नगरपालिकाको स्रोतअनुसार काम गर्‍यौँ  ।’ दोस्रो लहरमा भने धेरै सहज भएको उनको अनुभव छ । पहिलो लहरकै आइसोलेसनलगायत साधन तयारी अवस्था राखिएपछि सहज भयो । कोभिड व्यवस्थापनमा नगरपालिकाले वडा–वडामा जनप्रतिनिधिको संयोजकत्वमा टास्क फोर्स निर्माण गरियो । यस पटक अक्सिजन समस्याले नगरपालिकालाई पनि गाँजेको थियो । आफ्नै नगरको विद्यालयमा आइसोलेसन बनायौँ, जहाँ स्वास्थ्य चौकीका डाक्टर, नर्सलाई खटाएर जनशक्ति व्यवस्थापन गरियो । 


नगरपालिकाले कोभिडको पहिलो लहर नियन्त्रणमै २ करोड रुपैयाँ बढी खर्च गरेको थियो । त्यसमा प्रदेशले १५ लाखबाहेक संघले सहयोग गरेन । बरु नगरले आफ्नै पहलमा दातृ निकायबाट सहयोग जुटायो । नगरपालिकाले संक्रमितलाई अस्पताल लैजान समस्या भएकाले आफ्नै सवारीसाधनलाई पनि एम्बुलेन्स बनायौँ । 
स्थानीय सरकारको चार वर्ष पूरा हुँदै गर्दा तानसेन नगरपालिकाले नागरिकका धेरै वाचा पूरा गरिसकेको छ । नगरपालिकाले अहिले हरेक वडा कार्यालयसम्म सडक निर्माण गरिसकेको छ । २ सय ५० किमि नयाँ सडक निर्माण भएको छ । १४ किमि सडक कालोपत्रे भएको छ । ऐतिहासिक सहर भएकाले पहिले ढुंगा छापिएको ठाउँमा पुनर्निर्माण गरेर सौन्दर्य बढाइएको छ । खेल मैदानको स्तरोन्नति भएको छ ।


यस्तै, तानसेन नगरपालिकाले कृषिलाई प्राथमिकता दिन सिँचाइका लागि पोखरी निर्माण गरेको छ । उत्पादनलाई बजारमा पुर्‍याउन होलसेल केन्द्र नगरले खोलिदिएको हो । दलित, विपन्नलाई नगरले निःशुल्क बिमा गरिदिने व्यवस्था गरेको छ । युवा स्वरोजगार कार्यक्रममा नगरले १५ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ । अन्तिम वर्षको बजेटमा पनि युवालाई प्राथमिकता दिएका छौँ ।

 

‘यो वर्षको बजेटमा मुख्यतः युवालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘यसबाहेक सामुदायिक स्वास्थ्य केन्द्रलाई स्थायी बनाउने कार्यक्रम राखिएको छ ।’ बसपार्क, फोहोरबाट इन्धन निकाल्ने र पुराना कामलाई प्राथमिकता दिने गरी बजेट छुट्याइएको छ । कानुनका क्षेत्रमा नगरपालिकाले ३५ वटा कानुन निर्माण गरिसकेको छ । चार वर्षभित्र केही काम पूरा हुन नसकेकामा भने म आफैंलाई दुःख लागेको छ । ‘हाम्रो कार्यकालमा घोषणा गरिएका केही काम गर्न सकिएन,’ उनले भने, ‘जस्तो रानीमहल बनाउन सकिएन । सबै मन्दिर पुनर्निर्माण गर्न सकिएन ।’ कोभिडले प्राथमिकतामा फरक परेर काम गर्न नसकिएको नगरप्रमुख शाहीको भनाइ छ ।