close

राम मन्दिर बनाएरै छाड्छौँ

राम मन्दिर बनाएरै छाड्छौँ

Trulli
ADVERTISEMENT

ठाकुर ढकाल
नगरप्रमुख, माडी नगरपालिका, चितवन

 

चितवनको माडी नगरपालिकामा नेकपा माओवादीबाट नगरप्रमुखको उम्मेदवार बनेका  ठाकुर ढकाललाई निर्वाचनमा विजय हुन सजिलो थिएन । २०६२ जेठ २३ मा तत्कालीन माओवादीले यात्रु बसलाई लक्षित गरेर विस्फोट गराउँदा ३८ जनाको ज्यान गएको बाँदरमुढे माडीमै पर्छ । व्यक्तिगत छवि राम्रो हुनु र पूर्वजनप्रतिनिधि हुँदा स्थानीयसँग हिमचिम भएकाले ढकाल जनताको रोजाइमा परे । ढकालसँग यसअघि तत्कालीन गर्दी गाविसको दुई पटक अध्यक्ष भएको अनुभव छ । चितवनको विकट क्षेत्र माडीमा भएका विकासबारे ढकालसँग गरिएको कुराकानी :

 

माडीलाई ‘मणि’ बनाउन तपाईंले अघि सार्नुभएका योजना के–के हुन् ? 

 

माडी नगरपालिकाको मूल सडक हामी निर्वाचित भएर आउँदा पनि कालोपत्रे थिएन । अहिले कालोपत्रे भएको छ । पुल निर्माण भएको छ । नदी कटानका कारण माडीबासी बाढीका कारण विस्थापित हुँदै आएका थिए । त्यो रोक्न हामीले तटबन्ध बनाएका छौँ । हामीले वनकट्टादेखि बगैसम्मको १२ खोला तर्नुपर्ने हुन्छ । त्यहाँ पुल थिएन । हामीले दुई वटा पुल बनाइसकेका छौँ । सात वटा पुल चार महिनाभित्र बन्छन् । चालू आर्थिक वर्षमै सबै पुल बनाउने योजना बनाएका छौँ । ४० किलोमिटर सडक कालोपत्रे, क्षतविक्षत भएका विद्यालयको नयाँ भवन बनाइएको छ । 

 

चितवन राष्ट्रिय निकुञ्जसँग पर्ने घम्साघम्सीलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ? 

 

निकुञ्ज हाम्रो गौरवको विषय हो । यसलाई हामीले साधन र बाधकका रूपमा हेर्नुपर्छ । कतिपय कुरामा कानुनका कारण निकुञ्ज बाधकका रूपमा हेरिएको छ । तर, हामीले यसलाई साधकको रूपमा हेरिरहेका छौँ । यसले पर्यटन प्रवद्र्धन गर्न सक्ने भएकाले हाम्रो ध्यान त्यसतर्फ देखिएको छ । यातायातका हिसाबले जंगलभित्रको बाटो विकसित गर्नुपर्नेछ  । धुलो र खाल्डोरहित बाटो बनाउन हामीले बजेटको व्यवस्थापन गरेर काम गर्ने प्रण लिएका छौँ । 

 

कार्यकालको अन्तिम वर्षमा आइपुग्दा गर्न नसकेका काम के–के हुन् ? 

 

न्यू करिडोर माडीका लागि बहुआयामिक पाटो हो । अहिले बगरको जग्गा करोडौँमा बिक्री हुन सक्छ । अहिले जंगली जनावरबाट उत्तरी भेगमा बढी त्रास छ । त्यसलाई रोक्न सकिन्छ । करिडोर निर्माण गर्दा नदी कटानका कारण बगर भएका जमिन करिडोर बनाउँदा खेतीयोग्य बनाउन सकिन्छ । यो बहुआयामिक करिडोर सुरु मात्रै भएको छ । 

 

कोरोना महामारी नियन्त्रणमा माडीले गरेको प्रयास प्रशंसनीय छ । महामारी नियन्त्रणमा संघ र प्रदेश सरकारको कत्तिको सहयोग पाउनुभो ? 

 

महामारी नियन्त्रणमा प्रदेश सरकारको तर्फबाट १२ लाख रुपैयाँ आयो । नगरपालिकाकै तर्फबाट हामीले अस्पताल बनायौँ । अस्पतालमा बिरामी अहिले पनि उपचाररत छन् । हामीले ब्लड बैँक निर्माण गर्ने योजना बनाएका छौ । विभिन्न दातासँग सहयोग मागेर काम गरिरहेका छौँ । हामीले ६० लाख रुपैयाँ अनुदान लिएर काम गर्‍यौँ  तर सरकारबाट भने रकम आएन । 

 

माडीमा राममन्दिर बनाउने विषयले तपाईं पनि विवादमा पर्नुभो । राममन्दिर बनाउने काम कहाँ पुग्यो ?


राम मन्दिरलाई मैले धार्मिक रूपमा हेर्ने भन्दा पनि पर्यटकीय हिसाबले रामग्राम निर्माण गर्ने कुरा आएको छ । राम मन्दिरलाई अगाडि बढाउन हामीले १ सय बिघा जग्गा छुट्याएर अयोध्याधाम बनाउने योजना बनाएका छौँ । नगरपालिकाको लगानीबाट केही काम सुरु पनि भएको छ । अहिले विदेशी र स्वदेशी धर्मावलम्बीले मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता आएको छ । त्यसका लागि सरकारसँग पनि बजेट माग गर्ने हाम्रो तयारी छ । 


 
संविधानले स्थानीय सरकारलाई दिएका अधिकार प्रयोग गर्दा भोग्नुपरेका अवरोध के–के हुन् ? 

 

नदीजन्य पदार्थको राजस्व संकलन प्रयोग गर्न पाएका छैनौँ । वनसम्बन्धी नीति, रोयल्टीका विषयमा हामीले अधिकार प्राप्त गरेका छैनौँ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको अधिकार हामीले प्रयोग गर्न सकेका छैनौँ । त्यसमा पनि वनसँग जोडिने ऐन बाझिएको छ । यी विषयलाई मैले अवरोध मानेको छु ।