close

जुम्लामा बाढीले बगर बने धानका फाँट 

जुम्लामा बाढीले बगर बने धानका फाँट 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा निरन्तरको वर्षापछि बाढीले बगाएर मार्सी धानका फाँट बगर बनेका छन् । तिला र हिमा नदी किनारमा पाकेर भित्र्याउनै लागेको मार्सी धान खेतमा बाढी पसेपछि बगर बनेका हुन् । मार्सी धानको उद्गम थलो लाछु ज्युलाको आधा भागमा बाढी आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । 


भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि बालीमा ठूलो क्षति पुगेको स्थानीय देवीप्रसाद पाण्डेले गुनासो गरे । चन्दननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि बाढी आएको किसान धनराशी भण्डारीले बताए । 


निरन्तरको वर्षाका कारण जुम्लामा मुख्य बाली धान नष्ट हुनुका साथै विभिन्न ठाउँमा काठेपुल, सडक, विद्यालय र खानेपानी आयोजनामा क्षति पुगेको स्थानीय नारायणी चौलागाईंले बताइन् । उनले भनिन्, ‘तीन गाउँको खानेपानी बचाउन सकिएन । सोमबार बेलुकादेखि नै पानी खान समस्या भएको छ ।’


वडा नम्बर ४ स्थित नेत्रज्योति माध्यमिक विद्यालयमा पनि बाढीले क्षति गरेको छ । बाढीले विद्यालयको कम्पाउन्ड पर्खालदेखि कक्षाकोठासमेत भत्काएको छ । 
तिला गाउँपालिका वडा नम्बर ४ साँपुल्ली गाउँमा १९६, नुवाकोटका २२०, रावतवाडा ४५ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् ।


बाढीले नुवाकोटमा ७ र साँपुल्लीमा ७ हेक्टर जमिनको धान नष्ट गरी खेत कटान गरेको स्थानीय नरबहादुर शाहीले बताए । विद्युत्गृह, खानेपानी, पानीघट्ट, पुल पनि बगाएको छ ।  तिला गाउँपालिका वडा नम्बर १ रारा र कठिना जोड्ने काठेपुल बगाएको छ । राराका ९ वटा पानीघट्ट डुबानमा परेका छन् ।


त्यसैगरी तिला वडा नम्बर २ डुन्डेलीमा रहेका ९ वटा घर तिलाको बहावले जोखिममा परेपछि सामान सुरक्षित स्थानमा सारिएका छन् ।  यो वर्ष जुम्लामा २ हजार ९ सय हेक्टर जमिनमा लगाइएको धानबालीमध्ये करिब १ हजार ५ सय हेक्टर कटान गरी बाढीले बगाएको छ भने २ हजार ८ सय टन धान र ५ सय हेक्टर जमिनमा ७ सय टन सिमी तथा फापर बगाएको छ । 


तातोपानी गाउँपालिका वडा नम्बर ८ टोप्लामा घट्टेखोला लघु जलविद्युत् नहर, विद्युत्गृह, कालिका माध्यमिक विद्यालय टोप्ला, स्याउ बगैँचा खेलमैदान बगाएको छ । 


टोप्लामै रहेको विद्युत् पावरहाउस र पानीघट्ट बगाएको स्थानीय देवी शाहीले बताइन् । उनका अनुसार तातोपानी वडा नम्बर ७ बाह्रगाउँको पातरसाँघुमा आएको बाढीले ११७ भेडा बगाएकोे छ । उनले भनिन्, ‘ताम्ती, टोप्ला, डोग्रीलगायतको भेरी खोला क्षेत्रमा कति क्षति भयो यकिन जानकारी छैन ।’ 


प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं नेतृत्वको टोली क्षतिग्रस्त क्षेत्र तातोपानी र तिला अवलोकनमा गएको छ । प्रमुख जिल्ला अधिकारी प्रसाईंले भारी वर्षासँगै बाढी बढेकाले नदी र खोला छेउछाउ, पुराना भत्किन थालेका घरमा नबस्न नागरिकलाई आग्रह गरिन् । वर्षाले नाग्म–गमगडी राजमार्गको बाटो बन्द भएको छ ।