close

फेरि बन्द भए शुक्लागण्डकीका विद्यालय

फेरि बन्द भए शुक्लागण्डकीका विद्यालय

Trulli
ADVERTISEMENT

तनहुँ - कोरोना संक्रमणको जोखिम बढेपछि जिल्लाको शुक्लागण्डकी नगरपालिकामा खुलेका सामुदायिक तथा निजी विद्यालय फेरि बन्द भएका छन् । मंगलबारदेखि यहाँका विद्यालय बन्द भएका हुन् । 


नगरपालिकामा सञ्चालित विद्यालयले १ असोजबाट वैकल्पिक सिकाइ सहजीकरण थालेको १ महिना नपुग्दै बन्द गर्ने निर्णय गरिएको हो । चैत दोस्रो साता बन्द भएका विद्यालय ६ महिनापछि खुलेर पढ्न पाउँदा विद्यार्थी दंग थिए । 


गाउँमा थारै विद्यार्थी भएका विद्यालयले कक्षामै बोलाएर पढाइरहेका थिए । बजार क्षेत्रका ठूला विद्यालयले सहजीकरणका लागि गाउँ–टोलमा सिकाइ केन्द्र स्थापना गरेका थिए । प्रविधिको पहुँचमा भएकालाई भने अनलाइनमार्फत पढाइएको छ ।


समुदाय स्तरमा कोरोना संक्रमण दर बढेकाले विद्यालय बन्द गर्नु परेको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।


विद्यालयमा अनलाइनबाहेकका कक्षा सञ्चालन गर्न रोक लगाएको उनले बताए । ‘समुदायमा कोरोना फैलिरहेको छ । विद्यालय र सिकाइ केन्द्रमा विद्यार्थीलाई संक्रमण देखिए धेरैतिर जोखिम हुन्छ । त्यसैले जोखिम कम गर्न तत्काललाई विद्यालय बन्द गराएका हौं’, उनले भने ।

 

प्रवक्ता कुमालका अनुसार दसैंअगाडि विद्यालय खुल्ने सम्भावना छैन । शुक्लागण्डकीमा ५८ सामुदायिक र २३ संस्थागतसहित ८१ विद्यालय सञ्चालनमा छन् । 


कोरोना कहरका बीच खुलेका विद्यालयमा विद्यार्थीलाई मास्क अनिवार्य गरिएको थियो भने अधिकांशले थर्मल गनले ज्वरो नाप्ने र स्यानिटाइजर प्रयोगपछि मात्र कक्षामा प्रवेश अनुमति दिइँदै आएको थियो ।


शुक्लागण्डकी नगरपालिकामा हालसम्म ८३ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । तीमध्ये ४८ निको भएका छन् भने ३५ आइसोलेसनमा छन् । नगरपालिकामा १ हजार ३ सय ४ जनाको पिसीआर परीक्षण गरिएको छ ।