close

पोखराका सडकमा अमेरिकन पिच

पोखराका सडकमा अमेरिकन पिच

Trulli
ADVERTISEMENT


पोखरा– अस्फाल्ट कंक्रिट प्रविधिको सुरुवात अमेरिकामा भयो । खासगरी गाडीको बढी चाप हुने ठाउँमा यस्तो कालोपत्रे गरिन्छ । कम्तीमा ५ सेन्टिमिटरसम्म मोटाईको कालोपत्रे गर्नेगरी पोखरामा अस्फाल्ट कंक्रिटबाट पीचको काम सुरु भएको छ ।

 

पोखरा धेरै पानी पर्ने सहर हो । जसका कारण वर्षेनी सडक स्तरोन्नति गरिएपनि खाल्डो परिहाल्छ । यो प्रविधिबाट पीच गरिएको सडक कम्तीमा ६ वर्षसम्म खाल्डो नपर्ने दाबी छ ।


मंगलबारबाट न्यूरोडमा कालोपत्रे सुरु गरिएको हो । यो वर्ष न्यूरोडसहित पस्र्याङदेखि सिद्धार्थचोक हुँदै महेन्द्रपुल, त्यहाँबाट रानीपौवा–अमरसिंह चोक र महेन्द्रपुलदेखि दीपसम्मको सडक कालोपत्रे गर्न लागिएको हो ।

 

अध्ययनका अनुसार ग्रामिण सडकभन्दा सहरको सडक बढी महंगो हुन्छ । अस्फाल्ट कंक्रिट पनि महंगो प्रविधि हो । महानगरसहित सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयले पोखराका २५ किलोमिटर सडकलाई नयाँ शैलीको कालोपत्रे गर्नेछन् ।


यसका लागि महानगरले १७ लाख विनियोजन गरेको छ भने अरु दुई कार्यालयले १०/१० लाख छुट्याएका छन् । सडक डिभिजनले नयाँबजार क्षेत्र, विरौटाचोकबाट राष्ट्रबैंकचोकसम्म र दीपबाट महेन्द्रगुफा सम्मको सडक जिम्मा लिएको छ भने पूर्वाधार कार्यालयले मुस्ताङचोक–सहिदचोक हुँदै हल्लनचोक छोएर जीरोसम्मको सडक पाएको छ ।


पोखरामा यसअघि नै सडक डिभिजन कार्यालयले जीरोदेखि विन्ध्यावासिनीसम्मको सडकलाई अस्फाल्ट कंक्रिट गरेको छ । पोखरा महानगरले पहिलो पटक यो प्रविधिबाट कालोपत्रे गर्न लागेको हो ।


‘प्रविधि फेल भएन भने अब ६ बर्ष पोखराका सडकमा खाल्डो देख्न पर्दैन । अहिले स्तरोन्नति गर्न लागिएको सडक लामो समय टिक्छ,’ मेयर मानबहादुर जिसीले भने, ‘बढी चाप हुने ठाउँमा विज्ञले यही प्रविधि प्रयोग गर्न सुझाव दिएका हुन् ।’


प्राथमिकताका आधारमा नगरका सबै सडक अस्फाल्ट कंक्रिट गरिने उनले बताए । इन्जिनियर राजु रेग्मीका अनुसार सामान्य समयमा २ सेन्टिमिटरको मात्रै पीच हुन्छ । अहिले ५ सेमीसम्म पीच गर्न लागिएको छ ।

 

गाडीको चापले अस्फाल्ट कंक्रिट बाध्यात्मक भइसकेको उनले सुनाए । ७ महिनाभित्र पहिलो चरणको काम पूरा हुने महानगरले जनाएको छ ।

 

महानगरले २ वर्षभित्र सबै सडकलाई नमुना बनाउने दावी गरेको छ । अस्फाल्ट कंक्रिटको कामको टेण्डर अघिल्लो वर्ष नै निकालेर सम्झौता समेत भइसकेको थियो । यसबाहेक मेयर नमुना पूर्वाधार योजना अन्तर्गत विरौटादेखि तीनकुनेसम्मको सडकलाई आरटिओ रोड बनाउने र सबै वडालाई जोड्ने कनेक्टिङ सडक निर्माणको काम पनि भइरहेको छ ।