close

च्यांग्रापालनमा जुटे मुस्ताङका स्थानीय तह

च्यांग्रापालनमा जुटे मुस्ताङका स्थानीय तह

Trulli
ADVERTISEMENT

म्याग्दी - हिमाली क्षेत्रको जडीबुटीयुक्त बुकीमा चरेका मुस्ताङी च्यांग्राको माग र मूल्य बर्सेनि उकालो लाग्दै छ । विशेषगरी दशै‌-तिहारमा मुस्ताङी च्यांग्रा बजारमा ल्याउने गरिन्छ । 


यसपालिको दशै‌लाई लक्षित गरेर मुस्ताङबाट ६ हजार च्यांग्रा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको जोमसोमस्थित कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक सुधीर थापा ६ हजार २ सय २५ गोटा संख्यामा च्यांग्रा बाहिरिएको बताउँछन् ।  


‘विगत वर्षमा २५ देखि ३० हजार च्यांग्रा निकासी हुने गरेको थियो,’ उनले भने, ‘यसपालि कोरोनाका कारण तिब्बत र अन्य जिल्लाबाट नआएकाले मुस्ताङका कृषकले पालेका मात्र निकासी भएको हो ।’ कास्की, काठमाडाै‌, चितवन, म्याग्दी, बाग्लुङ, स्याङ्जा, तनहुँ, पर्वतलगायत जिल्लाका व्यापारीहरू मुस्ताङी कृषकका गोठगोठमै पुगेर च्यांग्रा खरिद गरेर बजारमा ल्याउने गर्छन् ।


मुस्ताङबाट हिँडाएर ल्याइएका च्यांग्रा बेनीबाट ट्रकमा राखेर देशका विभिन्न सहरमा पठाउन सुरु भइसकेको थापाले जानकारी दिए ।  बेनी-जोमसोम सडक जीर्ण भएका कारण जोमसोमदेखि बेनीसम्म हिँडाएरै च्यांग्रा ल्याउने गरिएको छ ।

 

गत वर्षको तुलनामा गोठमै ७ हजार रुपैयाँ प्रतिगोटासम्म बढी मूल्य तिर्नु परेकाले बजारमा च्यांग्रा र मासुको मूल्य बढेको व्यापारी अमरबहादुर ठकुरीले बताए । ‘गत वर्ष प्रतिगोटा २३ हजारका दरले खरिद गरेका च्यांग्राको मूल्य अहिले गोठमै २९ हजार पुग्यो,’ उनले भने, ‘कोरोनाका कारण तिब्बत, डोल्पा र मुगुबाट नआएकाले मुस्ताङका कृषकले मूल्य बढाए ।’ 


बजारमा उच्च माग र उत्पादन कम भएकाले भेडाच्यांग्राको मूल्य बर्सेनि बढेको बढ्यै छ। माग बढ्दै गएपछि च्यांग्रा उत्पादन बढाउन मुस्ताङका स्थानीय तहहरूले प्रदेश, संघ सरकार, दातृ निकायको सहयोगमा सञ्चालित परियोजना भित्र्याउन र कृषक समूहमार्फत कार्यक्रम सञ्चालन गरेको दामोदरकुण्ड लोघेकर गाउँपालिका अध्यक्ष राजु विष्ट सुनाउँछन् । 


‘संघ, प्रदेश सरकार र दातृ निकायका परियोजनाहरूले पनि कार्यक्रम गरेका छन्,’ उनले भने, ‘हामीले पनि कृषक समूह गठन गरेर सहयोग गरिरहेका छाै‌ ।’ चराङमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले च्यांग्रा फार्म स्थापना गरेको छ । 


च्यांग्राका पाठापाठी र पस्मिना उत्पादनका लागि स्थापना भएको फार्ममा ३ सय  च्यांग्रा र २० बोका छन् । च्यांग्राको पाठापाठीसँगै ऊन उत्पादन गर्ने फार्मको मुख्य उद्देश्य छ । च्यांग्राको ऊन पस्मिना बनाउन प्रयोग गरिन्छ । हिमाली क्षेत्र र चिसो ठाउँमा पस्मिनाको कपडा प्रयोग हुन्छ । 


नेपालबाट विदेशमा निकासी हुने सामानमा पस्मिना पनि एक हो । पर्याप्त जग्गा जमिन, चरन क्षेत्र र अनुकूल हावापानी भएका आधारमा फार्मका लागि चराङ छानिएको हो । हिमाली हावापानीमा पालिने च्यांग्रा मासुको माग उच्च छ । मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्लालगायत हिमाली जिल्लामा च्यांग्रापालन हुन्छ । 


हिमाली क्षेत्रको जडीबुटीयुक्त घाँस खुवाएर हुर्किएका च्यांग्राको मासु स्वास्थ्यवर्द्धक र स्वादिलो हुने भएकाले दशै‌ तिहारमा महँगो परे पनि उपभोग गर्ने चलन छ ।

 

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्यांग्रापालन गर्दै आएका छन् ।