close

सुर्नया केन्द्र विवाद हिंसात्मक, गाउँपालिका अध्यक्ष कुटिए

सुर्नया केन्द्र विवाद हिंसात्मक, गाउँपालिका अध्यक्ष कुटिए

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र विवाद उत्कर्षमा पुगेको छ । हाल गाउँपालिकाको वडा-५ स्थित रौलेश्वर कठ्यागौंडमा रहेको अस्थायी केन्द्रलाई सोही वडाको पवितामा सार्ने निर्णय भएसँगै पक्ष–विपक्षबीचको विवादले हिंसात्मक रुप लिएको हो ।


गाउँ कार्यपालिकाको ९ पुस ०७६ को कार्यपालिका बैठकले वडा-५ कै पवितामा केन्द्र राख्ने निर्णय गरको थियो । रौलेश्वर कठ्यागौंडबाट अन्यत्र केन्द्र सार्न लागिएपछि त्यसको विरोधमा व्यापारी र स्थानीयले आन्दोलित हुँदै आएका छन् । 


केन्द्रका विषयमा असन्तुष्ट पक्षले स्थानीय अर्जुन मडैको संयोजकत्वमा गाउँपालिका केन्द्र संघर्ष समिति गठन गरी विरोध गर्दै आएका थियो । 


गत आइतबार बसेको कार्यपालिका बैठकले १५ लाख रकम नयाँ ठाउँमा केन्द्र संरचनाका लागि छुट्याएको हल्ला सार्वजनिक भयो । त्यसपछि स्थानीयले सुरु गरेको आन्दोलनलाई व्यापारीले पनि साथ दिन थाले । उनीहरूले केही दिनअघि  गाउँपालिका कार्यालयमा ताल्चा लगाइदिएका थिए ।


मंगलबार र बुधबार गाउँपालिका पदाधिकारी र केन्द्र सार्न नपाइने पक्षबीच दिनभर छलफल चले पनि बिनानिष्कर्ष टुंगियो । बुधबार साँझपख मुचुल्का तयार गर्दै गाउँपालिका अध्यक्ष वीरबहादुर विष्ट ताल्चा तोड्न कार्यालयको ढोकामा पुग्नेबित्तिकै उनीमाथि स्थानीयले ढुंगा प्रहार गरे ।


अध्यक्षसँगै ६ प्रहरीसमेत स्थानीयको ढुंगा प्रहारबाट घाइते भएका छन् । यस्तै, आन्दोलनकारीमध्येका ९ जना पनि झडपका क्रममा घाइते भएको गाउँपालिका उपाध्यक्ष लीला विष्टले जानकारी दिइन्  ।


सामान्य अवस्थाका घाइते सबैको अहिले स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । 


केन्द्र विवाद नथामिएपछि अहिले प्रहरी निरीक्षक धनदेव साउद नेतृत्वको टोली सुर्नया गाउँपालिकास्थित घटनास्थलमा खटिएको छ । जिल्लाबाट सशस्त्र प्रहरीको टोलीसमेत पुग्ने क्रममा छ ।