close

४० वर्ष अघि सदरमुकामले किर्ते गरेको एउटा दुखी गाउँ

तरकारी बेच्दा भरियाले लान्छन् ६ रुपैयाँ, कृषकको भागमा २ रुपैयाँ

४० वर्ष अघि सदरमुकामले किर्ते गरेको एउटा दुखी गाउँ

तरकारी बेच्दा भरियाले लान्छन् ६ रुपैयाँ, कृषकको भागमा २ रुपैयाँ

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीस्थित दशरथचन्द नगरपालिका वडा–४ जर्गगाउँका २ सय बढी कृषकहरू व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । जर्गगाउँ सदरमुकामकै वडामा परे पनि जिल्लाकै सबैभन्दा दुर्गम थलो हो ।


जिल्ला सदरमुकामभन्दा टाढाका टोलटोमा सडक पुग्दा पनि जर्गको मालगाउँ, खानरा, मल्लीमडला, पाथराली, छडीलेक टोललाई अझै कच्ची सडकले समेत छोएको  छैन ।

 

यस क्षेत्रका किसान भाले नबास्दै बिहानै ४ बजे उठेर पिठ्युँमा तरकारीको डोको बोक्दै सदरमुकामका बजार हुइँकन्छन् । बढी तरकारी फलाएका किसानले भरिया लगाए प्रतिकेजी ६ रुपैयाँ भाडा तिर्नुपर्छ । ८ रुपैयाँ किलोका दरले तरकारी बेच्छन् । किसानको भागमा बल्ल बल्ल  प्रतिकेजी २ रुपैयाँ गोजीमा पर्छ ।


स्थानीय देवराम लोहार भन्छन्, ‘पञ्चायत कालमा पनि हामी जिल्ला सदरमुकामकै वासिन्दामा पर्दथ्यौं । बहुदलपछि सदरमुकामबासी भयौं । अहिले गणतन्त्रमा समेत जिल्ला सदरमुकामबासी छौं तर जिल्लाको सबैभन्दा दुर्गमका मान्छे भएको महसुस गर्छौं ।’


जर्गगाउँलाई कुनै पनि शासनव्यवस्थाले नहेरेको अर्का स्थानीय किसान दानीदत्त पाण्डे सुनाउँछन् । भन्छन्, ‘मैले व्यावसायिक तरकारी खेती सुरु गरेको ३० वर्ष बढी भइसक्यो । तर राहत तथा अनुदानका नाममा कतैबाट एक सुको पाएका छैनौं ।  हामी कुनै वर्ष तरकारीमा लाखौं रकमको नोक्सानी बेहोर्छौं तर कतैबाट राहतका नाममा १ रुपैयाँ पाउन्नौं ।’


समाचारमा सरकारले कृषिमा यति खर्च भयो, किसानलाई यो सहयोग, त्यो सहयोग गरियो भनेर जनप्रतिनिधि र कृषि कार्यालयका प्रतिनिधिले सञ्चार माध्यममा फुकेबाहेक आपूmहरूको पीडामा कसैले वास्ता नगरेको उनको गुनासो छ ।  गाउँमा ४० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका किसानले अहिलेसम्म १ रुपैयाँ अनुदान नपाएको उनको दाबी छ ।


स्थानीय नवीन पाण्डेय ३ वर्षसम्म असिनापानी, रोगकिराले लाखौंको तरकारी बाली नष्ट गरे पनि सुनिदिने निकाय कोही नभएको बताउँछन् । ‘कैयौं दिन कृषि ज्ञान केन्द्र, दशरथचन्द नगरपालिका धाए पनि कतैबाट राहतको आश्वासनसमेत पाउन सकेनौं । सडकका लागि धेरै पटक नगरपालिका धायौं तर हात लाग्यो शून्य भयो’, पाण्डेले दुःख बाँडे ।

 

सदरमुकामबासीले छिने गाउँको पानी


अहिले तरकारी फल्ने उक्त गाउँमा पहिला रोपाइँसमेत हुने गर्दथ्यो । तर, त्यहाँका खोलाहरूको पानी २०३६ मै जिल्ला सदरमुकामबासीले लगिदिएपछि अहिले खानेपानीको हाहाकार भएको छ ।


३ टोलमा पानी धाराको योजना दिने सहमतिमा सदरमुकामबासीले खानेपानी लगे पनि पछि कुनै योजना नदिएको स्थानीयको गुनासो छ ।


देवराम लोहार भन्छन्, ‘२०३६ सालमा पानी दिने भनेर खाली कागजमा गाउँका व्यक्तिको दस्तखत गराइएको थियो । पछि उक्त कागजमा यो पानीमा जर्गका बासिन्दाको कुनै हक हुने छैन भन्ने बेहोरा लेखिएको पाइयो । उक्त कुरा थाहा पाएपछि विरोधमा उत्रिए पनि केही जोड चलेन ।  बेहोराको मुनि हाम्रै दस्तखत देखियो ।’


अहिले पनि सदरमुकामको खानेपानीका लागि बर्सेनि लाखौं रकम बजेट छुट्याइने गरेको उनी सुनाउँछन् । तर, जर्गबासीका लागि  २०३६ यता १ रुपैयाँ रकम नपाइएको उनले दाबी गरे ।


‘४० वर्षअघि प्रयोग गर्दै आएको खानेपानी पाइप ठाउँठाउँमा टुटेको छ । हामी हरेक क्षेत्रबाट ठगिएका छौं । बनाइदिने कोही भएनन्,’ लोहारले भने ।