close

भत्किएको पुल समयमा नबनेपछि स्थानीयले लगाए भर्‍याङ

भत्किएको पुल समयमा नबनेपछि स्थानीयले लगाए भर्‍याङ

Trulli
ADVERTISEMENT

कालिकोट । खाँडाचक्र नपा र नरहरिनाथ गाउँपालिकाको सीमामा कर्णाली नदी कलकल बगिरहेको छ । जितेगलास्थित एउटा झोलुङ्गे पुल छ, तर एकातिरको ‘स्टिल डेक’भत्किएपछि आवतजावत बन्द भइसकेको थियो । गत असोज १९ को बाढीले उक्त पुलको‘स्टिल डेक’बगाएपछि दुई स्थानीय तहका बासिन्दालाई आवतजावतमा समस्या भएको हो । 

तर जहाँ इच्छा, त्यहाँ उपाय भनेझै उक्त झोलुङ्गे पुलमा स्थानीयले काठको भर्‍याङ लगाएर ‘स्टिल डेक’को आवश्यकता पूर्ति गरेका छन् । पुललाई बाढीले बगाएपछि स्थानीय बासिन्दा र व्यवसायीहरूको सहयोगमा आइतबार मात्रै पुलसँग जोड्न काठको भर्‍याङ निर्माण गरिएको स्थानीयले बताएका छन् । 

करिब ३८ वर्ष अगाडि निर्माण भएको उक्त पुल कालिकोटको खाँडाचक्र नगरपालिका-२ र नरहरिनाथ गाउँपालिकाको वडा नम्बर १ को सिमानासँग जोडिएको छ । 

आफ्नो कार्यकाल अघि नै पुलको निर्माण भएकोले सोबारे कुनै जानकारी नभएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले पालिकाखबरलाई बताए । उनका अनुसार गत वर्षको बाढीले पुलको पोलहरू बगाएको थियो । 

‘असोज १९ गते आएको बाढीले ‘स्टिल डेक’ नै बगाएर लग्यो,’उनले भने । हामीले जिल्ला विकास समिति र जिल्ला समन्वय समितिसँग पुल निर्माणको लागि माग गर्दै आएको टेलिफोनमार्फत् पालिकाखबरसँग अध्यक्ष विष्टले बताए । 

उनले काठको भर्‍याङ निर्माण भएको बारे कुनै जानकारी नभएको सुनाए । खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले पुलको केही भाग बाढीले बगाएकोले पालिकाले निर्माणको लागि कुनै पहल नगरेको स्वीकारे ।  
‘केही दिन अघि मात्रै पुल बगाएको हो । हामीले कुनै पहल गरेका छैनौँ,’उनले भने, ‘अहिले के भइरहेको छ । त्यसबारे जानकारी पनि छैन  ।’

पुल बगाएको केही समयपछि आफू निरीक्षण गर्न गए पनि आगामी आर्थिक वर्षमा पुल निर्माणको लागि बजेट विनियोजन हुने विश्वास उनको छ । पुल वैकल्पिक बाटोको रूपमा मात्र प्रयोग हुने भएकोले पालिकाले चासो नदेखाएको उनले दाबी गरे ।

‘पुलको एक किलोमिटर तल मोटरेवल पक्की पुल निर्माण भएको छ’, उनले भने, ‘केहीमाथि अर्को झोलुङ्गे पुल निर्माण भएको छ । छोटो बाटोको लागि मात्रै सो पुल प्रयोग गरिँदै आएको छ ।’ 

सहजताको लागि काठको भर्‍याङ निर्माण भएको हुन सक्ने आशंका उनको छ । उनकाअनुसार सो पुलले साबिक १७ वटा गाउँ विकास समितिसहित बाजुरा, हुम्ला, कालिकोट र मुगुका बासिन्दाले प्रयोग गर्दै आएका छन् । सुर्खेत जुम्ला कर्णाली राजमार्ग हुँदै चीनको हिल्सा र कर्णाली सदरमुकामको लागि पनि सोही पुलको प्रयोग हुँदै आएको छ ।