close

मध्यवर्तीमा वन्यजन्तुको उत्पात : यसपाली पनि समस्या समाधान गर्ने वाचाको ओइरो

'चुनावका बेला नेता समस्या समाधान गर्ने वाचा गर्छन्, अनि पाँच वर्षपछि फेरि त्यही वाचा दोहराउँछन्'

मध्यवर्तीमा वन्यजन्तुको उत्पात : यसपाली पनि समस्या समाधान गर्ने वाचाको ओइरो

'चुनावका बेला नेता समस्या समाधान गर्ने वाचा गर्छन्, अनि पाँच वर्षपछि फेरि त्यही वाचा दोहराउँछन्'

Trulli
ADVERTISEMENT

बाँके । बाँके निकुञ्ज मध्यवर्तीक्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीले बारम्बार वन्यजन्तु समस्या समाधान गरिदिन अनुरोध गर्दै आएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन क्षेत्र नं १ को मध्यवर्तीक्षेत्रमा मत माग्न पुगेका उम्मेदवारलाई समक्ष पनि स्थानीयवासीले वन्यजन्तुका कारण जीउधन र खेतीबाली जोखिममा परेको गुनासो सुनाएका छन्।

भोट माग्न आएका उम्मेदवार समक्ष राप्ती सोनारी गाउँपालिका–८ बालापुरका बासिन्दा वसन्त वलीले पनि वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो पोखे। अनि वन्यजन्तु समस्या समाधानका लागि निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गरे।

राप्ती सोनारी– १ कुसुमका स्थानीय शिक्षक भुवन खनालले निर्वाचनका बेला नेताले आश्वासन दिए पनि जनताको काम नगर्ने वास्तविकता रहेको गुनासो पोखे। “यसअघिका निर्वाचनमा पनि भोट माग्न आउनेले विभिन्न आश्वासन दिए तर पाँच वर्षमा केही भएन”, उनको गुनासो छ। निर्वाचन प्रचारका क्रममा गाउँ टोलमा आउने बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार सबैसामु वन्यजन्तु समस्या समाधानका लागि वडा नं ९ का वडावासीले समक्ष सामूहिक माग राख्ने गरेको वडाध्यक्ष सोहनलाल थारुले बताउँछन्।

“हाम्रो यो क्षेत्रबाट सङ्घ र प्रदेशमा गरी ११ जना उम्मेदवार छन्, सबैसँग वन्यजन्तु समस्या समाधानको लागि हामीले लिखित प्रतिबद्धता माग गरेका छौँ”, वडाध्यक्ष थारुले भने, “जसले जिते पनि वन्यजन्तु समस्या समाधान गराउन वडावासी एकजुट भएका छौँ ।”

बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित राप्ती सोनारीको वडा नं ९ का गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित छन् । वडा नं ९ को महादेवा, बुचापुर उडयन, पश्चिम–पूर्वा, हात्तीसारखैरी, खैरी गुरुवागाउँ, कौवाकाँडा, ढकेरीलगायतका टोल वन्यजन्तुबाट अतिप्रभावित रहेको वडाध्यक्ष थारुको भनाइ छ ।

राप्ती सोनारीको वडा नं १ का लौकी, वर्दापुर, चप्परगौडी, बाघखोर, बाँदरभरिया, ओजखोला, बाँसखोली, कुसुम, रानीगजेरी, वैरिया, सौरी, जरुवा, गाभर र सिक्टा गाउँ वन्यजन्तुबाट अतिप्रभावित रहेका छन् । वन्यजन्तु समस्या प्रमुख समस्याका रुपमा रहेको वडाध्यक्ष यमबहादुर खड्काले बताए।

वडा नं ८ को ओभरी र बालापुरका गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित भएकाले निर्वाचन प्रचारमा आउने उम्मेदवारसँग समस्या समाधानका लागि पहल गरिदिन मतदाताले आग्रह गर्ने गरेको वडा नं ८ का अध्यक्ष शालिकराम डाँगी बताउँछन्। बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा कोहलपुर नगरपालिका–१२ र १३ का गाउँबस्ती रहेका छन् ।

बाँके क्षेत्र नं १ मा नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले निकुञ्जबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधानलाई आफूले प्राथमिकतामा राखेको दाबी गरेका छन्।

उनले आफू निर्वाचित भएपछि जनताको आवश्यकताअनुसारकै काम गर्ने आश्वासन समेत दिएका छन्। उम्मेदवार ढकालले वन्यजन्तुबाट अतिप्रभावित निकुञ्ज वरिपरि वा मध्यवर्ती क्षेत्रमा बसोबास गरेका घरपरिवारलाई एक घर बराबर २५ लाखको जीवन बिमा व्यवस्था गर्ने र एक गोठ बराबर पाँच लाख रुपैयाँको पशु बिमाको व्यवस्था गर्ने नीति बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बाँके क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का नेता युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज उम्मेदवार छन् । यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका गहतराजले वन्यजन्तु समस्या समाधानका लागि आफूले विगतमा पनि पहल गरेको र अब पनि यो मुद्दालाई प्राथमिकतामा राखेको दाबी गरे।