close

म्याराडोनाका डाक्टर र नर्समाथि मुद्दा !

म्याराडोनाका डाक्टर र नर्समाथि मुद्दा !

Trulli
ADVERTISEMENT

अर्जेन्टिनाका महान्‌ फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीले मुद्दाको सामना गर्नुपर्ने भएको छ ।

एक छानबिन समितिले उनको उपचारमा व्यापक 'कमजोरी र अनियमितता' देखिएको पाएपछि एक न्यायाधीशले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएका हुन् ।

आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजमा सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयाघातका कारण म्याराडोनाको निधन भएको थियो ।

सोही महिनाको सुरुतिर मस्तिष्कको शल्यक्रिया गराएका उनलाई सुधार भइरहेको थियो ।

उनको निधन भएको केही दिनपछि आर्जेन्टीनी अभियोजनकर्ताहरूले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए ।

गत वर्ष २० जना विज्ञ सम्मिलित एउटा प्यानलले म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरूको टोलीले 'अनुपयुक्त, अपर्याप्त र गैरजिम्मेवार' ढङ्गले काम गरेको पाएको थियो ।

अदालतका अनुसार उक्त प्यानलले भनेको थियोः यदि उपयुक्त चिकित्सा सुविधामा पर्याप्त रूपमा उपचार गरिएको भए म्याराडोना बाँच्ने राम्रो सम्भावना हुन्थ्यो ।

मुद्दाको सामना गर्नेमा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुईजना नर्स र उनीहरूका हाकिमसहित छन् ।

आरोपित सबैले म्याराडोनाको निधनका लागि आफूहरू जिम्मेवार नरहेको बताएका छन् ।

अभियोग पुष्टि भएमा प्रत्येकले आठदेखि २५ वर्षको जेलसजाय भोग्नुपर्ने बताइएको छ । मुद्दाको सुनुवाइको समय चाहिँ तय भइसकेको छैन ।

निधन हुने बेला महान्‌ खेलाडीको अवस्था "कतैबाट सहयोग नपाएको जस्तो" देखेको म्याराडोनाका छोरामध्ये एकका वकिल मारिओ बाउड्रीले समाचार संस्था रोयटर्सलाई बताए ।

"कारण हेर्नासाथ मैले यो त लापरबाहीपूर्ण हत्या हो भनेँ । मैले लामो लडाइँ लडेर आज यहाँ पुगेका छौँ, एउटा चरण पूरा भएको छ," उनले भने । -बिबिसीबाट