close

'बालबालिकाले मोबाइल खेलाउँदा मानसिक तथा शारीरिक विकासमा बाधा'

'बालबालिकाले मोबाइल खेलाउँदा मानसिक तथा शारीरिक विकासमा बाधा'

Trulli
ADVERTISEMENT

रुपन्देही । बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाउन चिकित्सकहरूले आग्रह गरेका छन् । मोबाइल/टिभी धेरै समय हेर्दा बालबालिकाहरूमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो आग्रह गरेका हुन् ।
 
चिकित्सकहरू आवद्ध रहेको रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ” अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी गराएको हो ।

क्लवले रुपन्देहीका विभिन्न नगरपालिकाहरूसँगको सहकार्यमा सचेतनामुलक अभियानसमेत चलाउने क्लवका अध्यक्ष डा. सन्तोष पोखरेलले बताए । 

डा. पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रमा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुनेजस्ता समस्या देखिने गरेका छन् । पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा धेरै समस्या देखिएको बताउँदै उहाँले अभिभावक समेत यो विषयमा सचेत रहनुपर्नेमा जोड दिए । 

क्लवले बालबालिकाहरू बढी जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी, सार्वजनिक निकायहरूमा राख्नेगरी स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखरुलाई ब्यानर तथा सचेतना सामग्री हस्तान्तरण समेत गरेको छ । 

कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले क्लवले सुरु गरेको अभियान निकै सकारात्मक रहेको बताउँदै अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको बताए । 

तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भइसकेको सन्दर्भमा “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ” अभियानपनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने बताए । 

यस्तै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावकहरू बढी सचेत हुनुपर्ने बताउँदै परिवर्तनको सुरुवात् आफैंबाट गर्नुपर्ने बताए । 

यसैगरी सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लवले सुरु गरेको अभियान समाज सुधारको अभियान भएकोले यो अभियानले सामाजिक सचेतना जगाउने बताए ।

कार्यक्रममा रोटरी क्लवका एजी राजेन्द्र कार्की, रोटरीयनहरू डा. विनिता भट्टराई, डा. मञ्जु गुभाजुलगायतले बोल्नु भएको थियो । रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले यसअघि “जथाभावी नथुकौं, थुकले मृत्यु फैलाउछु” भन्ने अभियान सञ्चालन गरेको थियो ।