close

आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायी उत्साही

आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायी उत्साही

Trulli
ADVERTISEMENT

पोखरा - आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साही भएका छन् । कोभिड–१९ महामारीका कारण ६ महिनादेखि हवाई सेवा बन्द थियो ।  नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले लामो समयको बन्दाबन्दीपछि सञ्चालनमा आउन लागेको  हवाई उडानले व्यवसायीमा उत्साह थपेको बताए । 


‘व्यवसाय सोचेजस्तो हुन अझै धेरै नै समय लाग्छ, तर देश तथा विदेशमा नेपाल घुम्नका लागि नेपाल  खुला भयो भन्ने पुर्‍याउनसके आगामी दिनमा पर्यटकीय गतिविधिका सहयोग पुग्नेछ,’ उनले भने, ‘लामो समयको बन्दले व्यवसायीलाई धेरै तनाव थपे पनि अब  व्यवसाय सञ्चालन भएपछि केही मात्रामा तनाव कम हुनेछ ।’


फस्ट फ्लाइट ट्राभल प्रालिका सञ्चालक जीवनराज सापकोटा आन्तरिक उडान सञ्चालन हुन थालेपछि बुकिङ आउन थालेको बताउँछन् । ‘अब आशा छ, सुस्ताएको पर्यटन व्यवसाय आन्तरिक उडानसँगै केही चलायमान हुनेछ र गति लिनेछ,’  उनले भने । उनका अनुसार यती र बुद्ध एयरले दिनको दुई उडान राखेका छन् भने श्रीले अक्टुबर १ तारिखसम्म पोखरा उडानको सेड्युल राखेको छैन । 


यसैगरी पोखरादेखि भैरहवा, भरतपुरको उडान पनि अक्टुबर १ सम्म सेड्युलमा नभएको उनले जानकारी दिए ।  हवाई कम्पनीले हवाई भाडा पनि नबढाई जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि  यात्रुलाई पनि सहज हुने उनको भनाइ छ । सोनिक ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक कुलचन्द्र शर्मा सोमबारदेखि सञ्चालन हुन लागेको आन्तरिक हवाई सञ्चालनले  व्यवसायप्रति आशा पलाएको बताउँछन् । फोनबाट बुकिङसमेत आएकाले विस्तारै व्यवसायले गति लिनेमा आशावादी रहेको उनको भनाइ छ । 


कोभिड–१९ को असरलाई ध्यान दिएर सरकारले सञ्चालनको पहिलो साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशत मात्र उडान अनुमति दिएको छ   तर,  वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका छन्  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शतप्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी सोमबारदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् ।


सुरुमा ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएकामा व्यवसायीले विरोध जनाएपछि शतप्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय उडान भने गत भदौ १६ देखि सञ्चालनमा आइसकेको छ । 


छोटा तथा लामा दूरीका सवारी साधन र अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु हुन थालेसँगै ६ महिनापछि पोखरा लेकसाइटका होटल तथा रेस्टुराँ व्यवसाय पनि खुल्न थालेका छन् । 
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार अहिले लेकसाइटका होटल आंशिक रुपमा खुलेको र बाँकी खुल्ने तयारीमा छन् । पोखरामा ७ सय पर्यटकीय होटल छन् भने संघमा ४ सय होटल आबद्ध छन् ।