close

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

Trulli
ADVERTISEMENT

काठमाडौँ - आन्तरिक उडान पुनः सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि सुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् ।


खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सबीच पर्यटकीय गन्तव्यमा भ्रमणका लागि सस्तो प्याकेज बनाउने होडबाजी नै चलेको छ । यसले गन्तव्य भ्रमणमा निस्कने पारखीलाई त राहत मिलेको छ नै सिङ्गो पर्यटन क्षेत्रलाई पनि गतिशील तुल्याउन मद्दत पुग्ने व्यवसायीको अपेक्षा छ ।


हुन त, वायुसेवा कम्पनीको पनि कोभिड–१९ का कारण लामो समय प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अनेकन चुनौती छन् । आर्थिक नोक्सानी बेहोरेका एयरलाइन्सले जोखिम मोलेर भए पनि यात्रुलाई तान्न सस्ता प्याकेज बनाएर बेच्न थालेका छन् । होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय संस्था सँगको साझेदारितामा एयरलाइन्सले विभिन्न पर्यटकीय गन्तव्यको भ्रमणका लागि सस्तो प्याकेज धमाधम सार्वजनिक गरेका हुन् ।


निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एक महिनाअघि नै आकर्षक पर्यटकीय प्याकेज सार्वजनिक गरेर बजारीकरण गरेको थियो । अर्को ठूलो एयरलाइन्स यतीले पनि आफ्नो २२ औँ वार्षिकोत्सवको अवसर पारेर आन्तरिक उडान सुरु भएकै दिन सस्तो भ्रमण प्याकेज घोषणा गरेको हो ।


कोभिड महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो पटकको निषेधाज्ञाका कारण ६ महिना शून्य स्थिति जस्तै भएको मुलुकको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्कने आशाका पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा एयरलाइन्सले पनि छुट र अफरका प्याकेज ल्याएका हुन् । भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि सञ्चालनमा आएको आन्तरिक उडानले पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ । अहिले हवाई उडानसँगै होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय क्षेत्र खुलिसकेका छन् । 

 

कुन एयरलाइन्सका कस्ता अफर 

 

बुद्ध एयरले आन्तरिक पर्यटनलाई चलायमान बनाउन सस्तो आकर्षक होलिडे प्याकेज सार्वजनिक गरेको छ । बुद्ध होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएकोे हो । बुद्ध एयर, पोखरा तथा चितवनका होटलको सहकार्यमा प्याकेज ल्याएको कम्पनीले जनाएको छ । बुद्ध होलिडेज बुद्ध एयरको भगिनी संस्था हो ।


दुई दिन तीन रातको प्याकेजमा पोखरा ५ हजार ९ सय ९९ र चितवनका लागि ७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाइ, बिहानको खाजा, पोखरा विमानस्थलबाट होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको छ । यसैगरी चितवनको पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाइ, बिहानको खाजा, चितवन विमानस्थलबाट सौरहा होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । यो योजना सीमित अवधिभरका लागि हो । 


निजी क्षेत्रकै प्रतिस्पर्धी यती एयरलाइन्सले पनि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ । सरकारले घोषणा गरेको देश दर्शन कार्यक्रमलाई समेत दृष्टिगत गरी कम्पनीले भ्रमणको सस्तो प्याकेज बनाएको हो । कोभिड–१९ महामारीका कारण थलिएको पर्यटनलाई जीवन्त तुल्याउन कम्पनीले देशका विभिन्न गन्तव्यमा आकर्षक प्याकेज ल्याएको जनाएको छ । 


यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले नयाँ परिस्थितिमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन कम्पनीले आकर्षक प्याकेज ल्याएको बताए । उनका अनुसार यस्तो प्याकेज अक्टोबर २०२० बाट लागू हुने गरी बिक्री थालिएको छ । अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ । कम्पनीले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागिसमेत दुईतर्फी टिकट सहितका प्याकेज बनाएको छ । यी गन्तव्यमा होटेलको स्तरअनुसार मूल्य राखिएको छ ।

 


एयरलाइन्सका पर्यटकीय प्याकेजले आन्तरिक पर्यटनलाई गतिशील बनाउनाका साथै आर्थिक गतिविधि पनि बढ्नेमा व्यवसायी ढुक्क छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि एयरलाइन्सले ल्याएको सस्तो प्याकेजले पर्यटन क्षेत्रलाई चलायमान बनाउने बताए । उनले अहिलेको परिस्थितिमा सरोकारवाला संस्थाबीच साझेदारिताका साथ प्रभावकारी प्रवद्र्धनात्मक कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए ।


नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले आन्तरिक उडान खुलेसँगै पर्यटन बजारमा नयाँ उत्साह जगाएको भन्दै सुरुमा आन्तरिक र क्रमशः क्षेत्रीय गन्तव्यमा पर्यटन प्रवर्धनका गतिविधि बढाइनुपर्ने खाँचो औँल्याए ।