close

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन हुने

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन हुने

Trulli
फाइल फोटो
ADVERTISEMENT

पर्वत । कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्‍याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले  छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने भएको छ ।

‘अहिले कालीगण्डकी नदीमा र्‍याफ्टिङले निरन्तरता पाउन सकेको छैन । अब भने साउने बहरमा रहेको हार्नेस रिसोर्टदेखि र्‍याफटिङ सुरु हुनेछ’, कम्पनीका सञ्चालक नरेन्द्र केसीले भने, ‘स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुङ्गिन्छ ।’ 

उक्त नदीमा पोखराका आधा दर्जन कम्पनीमार्फत र्‍याफ्टिङ सञ्चालन हुँदै आएको थियो । अब भने हार्नेस कम्पनीले कुश्माबाट नै र्‍याफटिङको सुविधा उपलब्ध गराउने सञ्चालक सुनिल बानियाँले जानकारी दिए । उनका अनुसार सफल परीक्षण सकिएको हुँदा हप्ता दिनभित्रै र्‍याफ्टिङका लागि बुकिङ खुला गरिने छ ।

र्‍याफ्टिङका लागि इजरायल, अमेरिका, युरोपलगायत देशबाट पर्यटक आउने गरेका छन् । विदेशीसँगै स्वदेशी पर्यटकसमेत कालीगण्डकीमा र्‍याफ्टिङको मज्जा लिन आइपुग्छन् । 
र्‍याफटिङका लागि चैत, वैशाख, असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ । 
कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकनका साथै प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।