close

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको तयारी

पनौतीमा प्याराग्लाइडिङ सञ्चालनको तयारी

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा पर्ने कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । 

 कुशादेवी क्षेत्रमा स्थानमा प्याराग्लाइडिङ सञ्चालका लागि नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाई बताउँछन् ।

“मन्त्रालयबाट गत साउनमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पाएका छौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम गरिरहेको छ, यसपछि सञ्चालन निर्देशन जारी भएलगत्तै व्यावसायिक रुपमा सञ्चालन गछौँ”, उनले भने । उनका अनुसार मङ्सिरमै प्राविधिक प्रक्रियाको काम सकिनेछ भने पुसदेखि उडान थालिनेछ । 

कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला तीन दिनसम्म परीक्षण उडान गरिएको थियो । त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिकरुपमा उडानका लागि परीक्षण गरिएको थियो । 

उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति दिइएको बताइएको छ । हुमागाईका अनुसार दैनिक १० उडान भर्न बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म अनुमति पाएको छ । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने बताइएको छ तर, सुरुमा पाँच र त्यसपछि १० प्याराग्लाइडिङ सञ्चालन गरिने छ । 

प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवाले अध्ययन गरिरहेको हुमागाईले बताए । “यसबाट  स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको प्रचार हुनेछ”, पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने । प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने उनको भनाइ छ । 

यस्तै प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा अवतरण हुन्छ । गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरी चार किलोमिटर हो । प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने अवतरण हुने स्थान बन्चरेटार एक हजार तीस सय मिटरमा छ ।